२०८३ साउन १८ , सोमबार
Sky News Nepal
August 4, 2026

सुर्खेत–सल्यानमा खडेरी अध्ययन गर्न प्रदेश सरकारद्वारा कार्यदल गठन



सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेत र सल्यानमा खडेरी प्रभावित क्षेत्रमा धान रोपाइँ प्रभावित भएको अवस्थाबारे स्थलगत अध्ययन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका १,३,४,५,६र ७ एवं सल्यानको बनगाड कुपिण्डे नगरपालिका १,२,३,४,५,६र७ मा लामो समयदेखि पर्याप्त वर्षा नहुँदा हालसम्म धान रोपाइँ हुन नसकेको विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिएको हो ।

कर्णाली प्रदेशसभाको साउन १५ गते बसेको बैठकमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले शून्य समयमा सल्यान र सुर्खेतका उक्त क्षेत्रमा खडेरीका कारण किसानले धान रोप्न नपाएको विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिवस्तरीय निर्णयबाट अध्ययन कार्यदल गठन गरेको गरेको हो ।

कार्यदलको संयोजकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थ विज्ञ चित्रबहादुर रोकायलाई जिम्मेवारी दिइएको छ । कार्यदलमा जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सुर्खेतका इन्जिनियर प्रतिनिधि, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका इन्जिनियर प्रतिनिधि तथा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्री सदस्य रहेका छन् ।

मन्त्रालयका अनुसार कार्यदलले प्रभावित क्षेत्रमा पुगेर स्थानीय तह, किसान, सरोकारवाला निकाय तथा सम्बन्धित कार्यालयसँग समन्वय र छलफल गर्नेछ । साथै खडेरीका कारण धान रोपाइँ प्रभावित हुनुका कारण, त्यसले कृषिमा पारेको असर तथा समस्या समाधानका सम्भावित उपायसहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्ने जिम्मेवारी दिइएको छ ।

यस वर्ष पर्याप्त वर्षा नहुँदा सुर्खेतको सिम्ता गाउँपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका धेरै खेत अझै बाँझै रहेका छन् ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार
Translate »