

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज (मंगलवार) देखि नै लागू हुनेगरी हवाई उडानको भाडा बढाएको छ ।
प्राधिकरणले हवाई इन्धनको मूल्य प्रतिलीटर २० रुपैयाँ बढेको र त्यससँगै इन्धन अतिरिक्त शुल्क पनि बढेको भन्दै आजैदेखि लागू हुनेगरी हवाई भाडा समायोजन गरेको जनाएको हो ।
प्राधिकरणले परिपत्र जारी गर्दै विभिन्न गन्तव्यको नयाँ भाडादर आजैदेखि कार्यान्वयन गर्न वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ ।

यसैवीच आगामी भदौ ३० गतेदेखि हेलिकप्टरको चार्टर तथा नेपालीका लागि सहुलियतपूर्ण उद्धार उडानको भाडा बढ्ने भएको छ ।
वायुसेवा सञ्चालक संघ नेपालले एक विज्ञप्ति जारी गरी पश्चिम एशियामा भएको द्वन्द्वका कारण हवाई इन्धनको मूल्य बढेको‚ विदेशी मुद्राको भाउ बढ्दा पार्टपुर्जाको मूल्य बढेको तथा उड्डयनसम्बन्धी शुल्क र प्रशासनिक खर्चहरू बढेको भन्दै चार्टर तथा उद्धार उडानको भाडा बढाउनुपरेको जनाएको छ ।
संघले बढेको नयाँ भाडादर आगामी भदौ ३० गते (तदअनुसार १५ सेप्टेम्बर, २०२६) देखि लागू हुने पनि जनाएको छ ।











