

सुर्खेत । कर्णाली प्रदेशमा नवजात शिशुदेखि ५ वर्षमुनिका ७० हजारभन्दा बढी बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ (आयुर्वेदिक औषधी) खुवाइएको छ ।
बालबालिकाको स्वास्थ्य प्रवद्र्धनसँगै रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम अन्तर्गत गत आर्थिक वर्ष २०८२/०८३ को असोजदेखि असारसम्म कर्णालीका तीन जिल्लाका ७० हजार ५ सय ८ जना बालबालिकालाई खुवाइएको हो ।
प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतका ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम फोकलपर्सन (कविराज निरीक्षक) पुष्पा आचार्यका अनुसार सबै भन्दा बढी सुर्खेतमा ६५ हजार ९२ जना बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाइएको छ । ती मध्य ३७ हजार ४ सय २१ बालक र २७ हजार ६ सय ७१ बालिकालाई ‘स्वर्णविन्दु प्राशन’ खुवाइएको हो ।

त्यस्तै दैलेखमा कुल ५ हजार ४ सय १६ जनालाई खुवाइएको मध्य ३ हजार २ सय १३ बालक र २ हजार २ सय ३ बालिका रहेका छन् । यस्तै सबै भन्दा कम जुम्लामा कुल ३ हजार ९ सय ६६ जनालाई खुवाईएको मध्य २ हजार २ सय ८४ बालक र १ हजार ६ सय ८२ बालिका रहेको उनले जानकारी दिइन । उनका अनुसार कर्णाली प्रदेशका तीन वटा आयुर्वेद स्वास्थ्य केन्द्रहरु मार्फत यो सेवा निःशुल्क उपलब्ध गराइएको छ ।

‘स्वर्णबिन्दु प्राशन कार्यक्रमले कर्णालीका बालबालिकामा रहेको कुपोषणको समस्या कम गर्न मद्दत पुग्नुका साथै रोगप्रतिरोधात्मक क्षमता बढाउँदै स्मरण शक्ति, एकाग्रता र बौद्धिक क्षमताको विकास गरेको पाईयो,’ उनले भनिन्, ‘शुद्ध सुनको भस्म, मह, घ्यू र विभिन्न जडीबुटीहरुको मिश्रणबाट बनाइएको ‘स्वर्णबिन्दु प्राशन’ स्वास्थ्य सेवाको पहुँच कम भएका दुर्गम गाउँका बालबालिकालाई प्राथमिकता दिन सके थप प्रभावकारी देखिने छ ।’

उनले सरबारबाट पर्याप्त बजेटसँगै स्वास्थ्यकर्मीलाई तालिम जस्ता सहयोग प्राप्त हुने सके ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमलाई प्रदेशका ७९ वटै पालिकामा पु¥याउन सकिने बताईन् । हाल संघीय सरकारको सहयोगमा कर्णालीका दुई स्थान प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेत र आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला तथा कर्णाली प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखमा ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम सञ्चालन भईरहेको छ ।
प्राचीन आयुर्वेदिक विधिबाट तयार पारिने ‘स्वर्णबिन्दु प्राशन’ बालबालिकालाई प्रत्येक महिनामा आउने ‘पुष्य नक्षत्र’ को दिन खुवाईने गरिन्छ । यसको कुनै साइड इफेक्ट नहुने र बालबालिकाको समग्र शारीरिक तथा मानसिक विकासका लागि उत्तम मानिने आयुर्वेद चिकित्सकहरुको विश्वास रहेको छ ।












