२०८३ साउन २१ , बिहीबार
Sky News Nepal
August 7, 2026

सामाजिक विकास मन्त्रालयका सचिव श्रेष्ठद्वारा प्रदेश आयुर्वेद अस्पतालको निरीक्षण



सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले सुर्खेत प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रको निरीक्षण र अनुगमन गरेकी छन् ।

विहीबार उनले सेवाप्रवाह, भौतिक पूर्वाधार, औषधिको उत्पादन तथा गुणस्तरको अवस्थाबारे जानकारी लिँदै अस्पतालका विभिन्न शाखाहरु, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष निरीक्षण गरेकी हुन् ।  त्यसपछि सचिव श्रेष्ठले अस्पतालमा उपचाररत बिरामी, तिनका कुरुवा तथा कर्मचारीहरुसँग समेत कुराकानी गरिन् ।

उनले कर्णालीमा प्रशस्त मात्रामा पाइने जडीबुटीको वैज्ञानिक उपयोग, प्रशोधन र उत्पादनमार्फत स्वदेशी आयुर्वेद औषधीलाई प्रवद्र्धन गर्न सकिने उल्लेख गर्दै त्यसका लागि मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताईन् ।

‘कर्णालीमा उपलब्ध जडीबुटीको वैज्ञानिक उपयोग गरी आफ्नै आयुर्वेदिक औषधिको उत्पादन विस्तार गर्नुपर्छ,’ उनले भनिन्, ‘उत्पादन क्षमता बढाएर प्रदेशभरका सरकारी स्वास्थ्य संस्थामा आवश्यक औषधिको नियमित आपूर्ति सुनिश्चित गर्ने तर्फ अघि बढ्नु पर्छ ।’

उनले आयुर्वेद अस्पतालबाट प्रवाह हुने सेवा सुविधासँगै आयुर्वेद औषधि तथा उपचार पद्धतीको बारेमा सर्वसाधारण माझ अझ व्यापक प्रचार–प्रचार गर्न समेत सुझाव दिईन् ।  आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुदृढीकरणका लागि प्रदेश सरकारले विभिन्न समयमा नियमन तथा अनुगमनका नीतिहरु अघि बढाएको उनको भनाइ थियो ।

यता आयुर्वेद अस्पतालका निर्देशक डाक्टर लक्ष्मीनारायण तिवारीले पर्याप्ट बजेट, पूर्वाधारसँगै दरबन्दी नथपिँदा अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो राखेका थिए । उनले अस्पतालमा दैनिक एक सय भन्दा बढी बिरामी उपचार गर्न आउने गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार
Translate »