२०८३ साउन २३ , शनिबार
Sky News Nepal
August 8, 2026

शिकार खेल्ने क्रममा एक जनाको मृत्यु, सँगै गएका ६ जना पक्राउ



सल्यान । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।

साथीहरूसँग कालीमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्न गएका कालीमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रहरीका अनुसार शिकार खेल्न पुनसहित सात जनाको टोली जङ्गल गएको थियो । शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो । गोली पुन मगरको पेटको तल्लो भाग र कम्मरमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी ईश्वरी रोकायले जानकारी दिए ।

घटनामा संलग्न रहेको आरोपमा कालीमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालीमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ साउन २३ गते शनिबार
Translate »