२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 9, 2026

चौकुनेमा एलपी ग्यासको चरम अभाव, तत्काल आपूर्ति गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग



सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाका बजारमा खाना पकाउने एलपी ग्यासको अभावका कारण स्थानीय नागरिकको दैनिक जनजीवन प्रभावित भएको छ ।

चौकुनेमा ग्यासको नियमित आपूर्ति हुन नसक्दा दैनिक खाना पकाउनसमेत समस्या भएको उपभोक्ताले गुनासो गरेका छन् । खाली सिलिन्डर बोकेर लामो लाइनमा बस्दासमेत ग्यास उपलब्ध नभएको गुनासो सर्वत्र सुनिन्छ। बजारमा ग्यास अभाव के कति कारणले भएको हो ? यस विषयमा राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतको गम्भीर ध्यानाकर्षण गराउँदै समस्या तत्काल समाधान गर्न माग गरेको छ ।

मञ्चका सुर्खेत अध्यक्ष कुमारी भुसालले विकासमा विभेद गरिएको पश्चिम सुर्खेतलाई तत्काल अत्यावश्यक एलपी ग्यासको सहज आपूर्ति मिलाउन आग्रह गरेकी छिन् । नेपाल आयाल निगमले एलपी ग्यासको बढ्दो माग र आपूर्तिबिच सन्तुलन कायम गर्न नसक्दा गाउँपालिकाको अत्यावश्यक सेवामा समेत नकारात्मक असर पारेको छ ।

चौकुने गाउँपालिकाका अध्यक्ष खड्क  वि.क. (विबस) ले नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतलाई एउटा पत्र मार्फत पालिकाको वडा नम्वर ८, गुटु स्थित न्यू एमके सप्लायर्स मार्फत एक सय थान एलपी ग्याँस सिलिन्डर उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध गरेका छन् । उनले चौकुनेमा ग्यास अभावका कारण विशेषगरी ज्येष्ठ नागरिक, शारीरिकरुपमा अशक्त तथा बिरामी व्यक्तिहरूलाई खाना पकाउन कठिनाइ भएको जनाए ।

एलपी ग्यास अभावकै कारण चौकुनेको स्वास्थ्य क्षेत्रलगायत अन्य अत्यावश्यक सेवामा समेत नकारात्मक असर परेको उनको भनाइ छ । ‘चौकुनेमा लामो समयसम्म ग्यासको सहज आपूर्ति हुन नसक्दा नागरिक थप समस्यामा पर्न गएका हुन्,’ उनले भने, विशेषगरी घरायसी काममा निर्भर ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा असक्त नागरिकका लागि वर्तमान अवस्था थप चुनौतीपूर्ण बनेको हो।’

उनले खाना पकाउने ग्यासको आपूर्ति तत्काल सहज र नियमित बनाउन सम्बन्धित निकाय तथा सरोकारवाला पक्षलाई समेत आवश्यक पहल गरि दिन आग्रह गरे । नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तत्काल कदम चाल्नुपर्ने देखिएको उनले आयल निगमलाई लेखेको पत्र मार्फत जिल्ला जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई समेत बोधार्थ पठाएका छन् ।

यता नेपाल आयल निगमले बढ्दो माग र आपूर्तिबिच सन्तुलन कायम गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी आपूर्ति तथा वितरण व्यवस्थालाई थप प्रभावकारी बनाउने काम भइरहेको बताएको छ । निगमका सुर्खेत प्रमुख दिपक घिमिरेले ग्यास उद्योगीसँगको समन्वयमा ग्यासको आयात, भण्डारण र वितरणलाई पारदर्शी तथा अनुमानयोग्य बनाउने सुधारका काम भईरहेकाले अब दुई/तीन दिनमै चौकुनेमा एलपी ग्यास पठाईने जनाए ।

उनले वैकल्पिक सिलिन्डर नभएका सर्वसाधारण उपभोक्तालाई पहिचान गरी प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन डिलरहरुलाई आग्रह गरेको समेत जनाए । त्यसैगरी, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, कानुनविपरीत कार्य गर्ने वा उपभोक्तालाई अनावश्यक दुःख दिने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार
Translate »