२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 9, 2026

निर्मल पुर्जाको शव बेलायत लगियो



काठमाडौं । पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी ज्यान गुमाएका विश्वकीर्तिमानी नेपाली–ब्रिटिस आरोही निर्मल पुर्जा ‘निम्सदाई’ को पार्थिव शरीरलाई बेलायत लगिएको छ।

परिवारको निर्णयअनुसार उनको शवलाई आइतबार पाकिस्तानको राजधानी इस्लामाबादबाट लन्डन उडाइएको हो । पुर्जाकी श्रीमती र नजिकका परिवारजन बेलायतमा बसोबास गर्दै आएकाले उनको शव बेलायत लैजाने निर्णय गरिएको अधिकारीहरुले बताएका छन् ।

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पुर्जाको शव नेपाल ल्याएर नेपाली जनतालाई अन्तिम श्रद्धाञ्जली दिने व्यवस्था मिलाइनुपर्ने बताएका थिए । यस्तै, नेपाल सरकारले उनको शव स्वदेश ल्याउन पर्याप्त कूटनीतिक पहल नगरेको भन्दै पर्वतारोहण क्षेत्रका कतिपय व्यक्तिहरुले प्रश्न उठाएका छन् ।

गत साउन १४ मा ब्रोड पिकमा आएको विनाशकारी हिमपहिरोमा परी १० जना अन्तर्राष्ट्रिय आरोही टोलीको मृत्यु भएको थियो । जसमा पुर्जासहित ६ जना नेपाली आरोही थिए । मृतक नेपाली मध्ये पुरबहादुर गुरुङ ‘युक्त’ को शव गत बिहीबार नै नेपाल ल्याइसकिएको छ।

यस्तै, दुर्घटनास्थलबाट संकलन गरी इस्लामाबाद ल्याइएका किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव भने सम्पूर्ण प्रक्रिया पूरा गरी मङ्गलबार वा बुधबारसम्म काठमाडौं ल्याउने तयारी भइरहेको छ।

अत्यधिक भौगोलिक कठिनाइ र खराब मौसमका कारण अर्का नेपाली आरोही नवाङ थिन्डु शेर्पा, एक जना पाकिस्तानी र एक जना अमेरिकी आरोहीको शव भने अझै हिमालबाट संकलन गर्न सकिएको छैन् ।

दुर्घटनामा नेपालीहरूसहित चीनका वाङ जोङ, अमेरिकाकी सारा मेलोरी गिस, पाकिस्तानका सोहेल साखी र ओमानकी नाधिरा अल हार्थीको ज्यान गएको थियो ।

 

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार
Translate »