२०८३ साउन २४ , आइतबार
Sky News Nepal
August 9, 2026

पहिरोले मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि मुगुको गमगढी बजारमा खानेपानी आपूर्ति पूर्णरूपमा बन्द



मुगु । गमगढी बजारमा विगत एक सातादेखि खानेपानीको चरम अभाव भएको छ । खानेपानी आपूर्ति अवरुद्ध भएपछि स्थानीय बजारवासी पानीको जोहो गर्न बाध्य भएका छन् ।

छायाँनाथ रारा नगरपालिका–७ स्थित रारा विमानस्थलको किउरी भिरमा साउन १८ गते राति करिब ५० मिटर लामो पहिरो गएको थियो । पहिरोले खानेपानीको मुख्य पाइपलाइनमा क्षति पुर्‍याएपछि गमगढी बजारमा खानेपानी आपूर्ति पूर्णरूपमा बन्द भएको हो ।

खानेपानी आपूर्ति बन्द हुँदा गमगढी बजारका करिब ४५० घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् । खानेपानीको चरम अभाव भएपछि स्थानीय बासिन्दा चैन खोलालगायत बजार आसपासका सीमित स्रोतबाट पानीको जोहो गर्न दौडधुप गरिरहेका छन् ।

खानेपानीको अभावले बजारवासीको दैनिक जनजीवन प्रभावित भएको छ । विशेषगरी खाना पकाउन, सरसफाइ गर्न तथा अन्य दैनिक कामका लागि आवश्यक पानी जुटाउन समस्या भएको स्थानीयले बताएका छन् ।

गमगढी खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोर्खबहादुर मल्लका अनुसार मौसममा आएको खराबीका कारण पहिरो गएको स्थानमा नयाँ पाइप जडान गर्न कठिनाइ भइरहेको छ । पाइप जडानको काम समयमै सम्पन्न गर्न सकिएमा सोमबारदेखि खानेपानी आपूर्तिको समस्या समाधान हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ साउन २४ गते आइतबार
Translate »