

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा लामो समयको पर्खाइपछि पुनः कोसेली गृह सञ्चालनमा आएको छ ।
शुक्रबार कर्णालीका प्रदेशका उद्योग, पर्ययट, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको १ करोड २४ लाख लागतमा निर्माण भएको उक्त कोसेली गृहको उद्घाटन गरेकी हुन् ।
कोसेली गृह सञ्चालनमा आएसँगै कर्णालीका रैथाने खाद्यान्न, घरेलु कपडा, वनमा आधारित कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएका वस्तुको प्रदर्शनी तथा बिक्री वितरण सुरु भएको छ । मुख्यतहः काष्ठकलाका सामग्री, जडीबुटी, स्थानीय कपडा र खाद्यान्नजन्य उत्पादनलगायत पाँच प्रकारका वस्तुबाट कोसेली गृहमा राखिएका छन् ।
गृहको उद्घाटन गर्दै मन्त्री खड्काले अब कर्णालीले आयात मात्र होइन, निर्यात गर्न पनि सक्षम हुने विश्वास व्यक्त गरिन् । उनले प्राकृतिक स्रोतसाधनको प्रयोग गर्दै अर्थतन्त्रमा योगदान पु¥याउने वस्तुको उत्पादनमा जोड दिईन् । कर्णालीमा खेर गइरहेका प्राकृतिक स्रोत–साधनको उपयोगमार्फत नागरिकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन कोसेली गृहले सहयोग पुग्ने उनको भनाइ थियो ।


कार्यक्रममा लघु औद्योगिक ग्राम तथा कोशेली गृह सञ्चालक समितिका अध्यक्ष सुमननाथ योगीले कोसेली गृहलाई स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्ने ‘हर्ट स्पट’ का रुपमा विकास गर्न सरकार सहयोग निरन्तर आवश्यक रहेको औल्याए । उनले कोसेली गृह सञ्चालनमा आएसँगै कर्णालीसँगै देशका अन्य ग्रामीण भेगका घरेलु उत्पादनको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कोसेली गृह सञ्चालनले लघु घरेलु उद्योगबाट उत्पादित वस्तुको सहज विक्रीवितरणका साथै जिल्लाबाहिर तथा विदेशमा समेत चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख मुकुन्दनाथ योगीले कोसेली गृहले कर्णालीका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
उनले प्रदेशका स्थानीय तथा मौलिक वस्तुलाई एकै ठाउँमा संकलन गरी उपभोक्तासम्म पु¥याउने उद्देश्यले कोशेली गृह सञ्चालनमा ल्याइएको जनाए । उनका अनुसार स्थानीय उत्पादनको बजार विस्तारसँगै उद्यमी तथा युवालाई रोजगारी तथा स्वरोजगारसँग जोड्न यस्तो गृहले सहयोग पुग्ने छ ।
गृहको भवन निर्माण २०७९ साल कात्तिकमै सम्पन्न भएपनि सञ्चालनसम्बन्धी नीति निर्माण तथा आवश्यक व्यवस्थापनका कारण सञ्चालनमा आउन ढिलाई भएपनि अब योजनावद्ध तरिकाले अघि बढ्ने विश्वास उनले व्यक्त गरे । यद्यपि ! यसअघि दुई व्यावसायिक संस्थाबीचको विवादले अवरुद्ध कोसेली गृह पटक–पटक सञ्चालनमा आउने र बन्द हुने गरेको थियो ।












