२०८३ असोज ८ , बिहीबार
Sky News Nepal
September 24, 2026

विमानस्थल विस्तारमा जुटौं



सुर्खेत विमानस्थल विस्तारको योजना बारम्वार असफल हुनुमा राजनीति दलहरु नै बढी जिम्मेवार देखिएको छ । विकास निर्माण जस्तो साझा मुद्धामा समेत आफु अनुकुलको निर्णय भएपछि ठिक र नभए बेठिक बुझ्ने प्रवृत्तिले कतिपय अति महत्वपूर्ण आयोजनाहरु तुहिने गरेका छन् । सुर्खेत विमानस्थलको थप विस्तार र स्तरोन्नतिको काम विगत पाँच बर्षदेखि राजनीति स्वार्थका कारणले अघि बढ्ने सकेको छैन् । चार वर्ष पहिले विमानस्थल विस्तारका लागि लागत संकलनको काममा राजनीति ईगोले स्थानीयको विरोधका कारण बीचमै अवरुद्ध भएको थियो । सरकारले २०२१ सालदेखि २०६६ सालसम्म विमानस्थल विस्तारका लागि चार पटक जमिन अधिग्रहण गरिसकेको छ । अहिलेपनि विमानस्थल विस्तारका लागि थप ३० विघा जमिन अधिग्रहण गर्नुपर्ने प्राविधिक रिपोर्टले देखाएको छ । त्यतिबेला सरकारले थालेको विमानस्थल विस्तार तथा विकासको काम प्रभावित क्षेत्रका नागरिकसँग विकल्प विना सल्लाह तथा राय सुझाव विना नै एकलौटी गर्न थालिएपछि तत्कालिन विपक्षी दलका नेताहरुले प्रतिशोधका भावना जाहिर गरेका थिए । प्रभावित क्षेत्रका नागरिकका अपेक्षा र विवाद कसरी समाधान गर्ने भन्ने योजना विना नै विमानस्थल विस्तारको काम शुरु गरेपछि त्यो तुहिएको थियो । राजनीति घनचक्करमा फसेको सुर्खेत विमानस्थल विस्तार कार्य अर्कोतर्फ आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने तर्क मात्र राखिएन, नयाँ स्थानको खोजी गर्न तर्फ तत्कालिन सरोकारवाला सहमत भएका थिए ।

कर्णालीका तत्कालिन मुख्यमन्त्रीहरु महेन्द्रबहादुर शाहीदेखि जीवनबहादुर शाहीसम्म स्थानीयवासीलाई रुवाएर विमानस्थल विस्तार गर्नु भन्दा विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेका थिए । तर, त्यो पनि घुमाउँरो पारामा राजनीति खिंचातानीले उनीहरु त्यस्तो बोल्न बाध्य भए । अहिलेपनि सुर्खेत विमानस्थल विस्तारका वर्षेनी प्रदेश र संघबाट आउने रकम फ्रिज हुँदै आएको छ । अझैपनि नेताहरु विकास निर्माणमा पार्टीगत आँखाभन्दा माथि उठ्न नसक्दा समस्या ज्यूँका त्यूँह रहेको हो । प्रदेशका नेताहरु केन्द्रका ठूला नेताहरुको ईशारामा काम गर्ने भएकाले विमानस्थल विस्तारमै वर्षौँ अल्झिनुभन्दा उपयुक्त नयाँ स्थानको खोजी गर्ने क्रममा रामघाटमा नयाँ विमानस्थल निर्माण अघि बढाईउने कार्यमा जुटेको देखिन्छ । यद्यपि ! जति धेरै विमानस्थल विस्तारमा ढिलाई हुनेछ, त्यति नै बढी कर्णालीका नागरिकले दुःख मात्र होइन, यहाँको पर्यटन, उद्योग धन्दा व्यापार व्यवसाय पछाडी धकेलिनेछ । यद्यपि ! जुन नेताहरुले विशुद्ध जनअपेक्षा र आवश्यकतामा आधारित विकासको वकालत गरिरहेका छन्, त्यसलाई विफल बनाउने काममा जुटेका आभास हुन्छ । फेरीपनि रामघाटमा नयाँ विमानस्थलको कामपनि हुँदै गर्छ र हाल तत्कालको समस्या समाधानका लागि सुर्खेत विमानस्थलको विस्तार गर्नु उपयुक्त देखिन्छ । अहिले संघीय सरकारले रामघाटमा नयाँ विमानस्थल निर्माण गर्ने भनेर बजेट र नीति, कार्यक्रममा पनि समेटेको छ । साथै प्रदेश सरकारले पनि विमानस्थल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरिने बजेटमा उल्लेख गरेको छ ।

यद्यपि तत्कालको आवश्यकताका लागि वर्तमान विमानस्थलको विकल्प नरहेको भन्दै मुआब्जा दिएर फेरी विस्तार कार्य अगाडि बढाउनुपर्ने आवाजहरु जायज हुन् । यसमा विमति प्रकट गर्नु भनेको विकास विरोधी हुनु हो ।  सुर्खेतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद हृदयराम थानीदेखि नीजि क्षेत्रले समेत सुर्खेत विमानस्थलको तत्काल विकल्प सोच्न नहुने धारणा जाहिर गर्दै आईरहेका छन् । हाल विमानस्थलको विकल्प खोज्दा मुलुकको आर्थिक स्थितिले तत्काल सम्भव नहुने देखिएकाले हालको विमानस्थलको धावनमार्ग विस्तार गर्न उपयुक्त निचोडमा पुगेको देखिन्छ । धावनमार्ग साँघुरो हुँदा ठूला जहाज सञ्चालन हुन नसकेपछि संघ र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नतिको योजनाअघि सार्नु उपयुक्त हुन्छ । हाल धावनमार्गको लम्बाइ एक हजार २५५ मिटर छ । सुर्खेत नागरिक उडड्यन कार्यालयका अनुसार विमानस्थल विस्तार गर्न उत्तरतर्फ करिब ६०० मिटर लम्बाइ र २४० मिटर चौडाइ विस्तार गर्न करिब ३० बिघा जमिन अधिग्रहण गर्न हुन्छ । अहिले ७२ सिटे जहाजले मात्र सुर्खेत काठमाडौँ उडान भर्दै आएको छ । विमानस्थलको धावनमार्ग सानो हुँदा तापक्रम, सिट संख्या र तौल सन्तुलन गरेर एटीआर–७२ जहाजले सेवा प्रदान गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । ५७ वर्ष पुरानो यस विमानस्थलको हाल विकल्प सोच्न नसकिए अनावश्यक नागरिकले महँगो हवाई भाडा तिरि रहनुपर्ने अवस्था छ । नयाँ विकल्प सोच्दा पनि १५÷२० वर्ष लाग्ने, त्यो अवधिसम्म यही विमानस्थल चलाउनु उपयुक्त देखिन्छ ।

प्रकाशित मिति : २०८० असोज ८ गते सोमबार
Translate »