

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।
केन्द्रमा दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेसँगै माओवादी केन्द्रका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्रबहादुर केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावत, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले आज मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउनु भएको हो ।

बैशाख १८ गते माओवादीका तर्फबाट मन्त्री नियुक्त हुनु भएका मन्त्रीहरुको राजीनामासँगै अबको एक महिनामा प्रदेश सभाबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । राजीनामा पत्र बुझ्दै मुख्यमन्त्री कँडेलले आगामी दिनमा पनि सहकार्य, सहमति गर्दै अघि बढने प्रतिबद्धता जनाए ।
मन्त्रीहरुले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राजीनामा पछि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने जानकारी दिए ।











