राजमार्गमा वन्यजन्तु मैत्री संरचना बनाउनुपर्नेमा जोड


बाँके । बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिहरूले राजमार्ग र अन्य संरचना वन्यजन्तुमैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।
वन्यजन्तु, वातावरण र जलवायु अनुकूलता बिना गरिएको पूर्वाधार विकास दिगो नहुने बताउँदै उनीहरुले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायतका संरचनाको निर्माण गर्दा वातावरण संरक्षणलाई ध्यान दिनुपर्ने माग राखेका हुन् ।

बाँकेको कोहलपुरमा मङ्गलवार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले वन्यजन्तुको संरक्षण मानवको कर्तव्य भएको बताउँदै वन्यजन्तुमैत्री पूर्वाधारको आवश्यकतामा जोड दिए । उनले सबैको अस्तित्वलाई स्वीकारेर मात्रै दिगो विकास सम्भव हुने बताए ।
बर्दिया र बाँके राष्ट्रिय निकुञ्जका प्रमुखहरूले जथाभाबी रुपमा निर्माण भएका सडक संरचनाले मानव–वन्यजन्तु द्वन्द्व बढाइरहेको भन्दै वन्यजन्तु निर्बाध आवतजावत गर्न सक्ने संरचना निर्माणको खाँचो औंल्याए । संरचना निर्माणले सामाजिक, आर्थिक, र वातावरणीय प्रभाव पार्ने भएकाले दीर्घकालीन सोचसहितको विकासमा जोड दिनुपर्ने उनीहरुको धारणा थियो ।

