राष्ट्रिय भलिबल खेलाडी उषालाई भाटभटेनीद्वारा १० लाख रुपैयाँ प्रोत्साहन

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी स्पाइकर उषा भण्डारीलाई भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिने भएको छ ।

भण्डारीले नेपाली भलिबलमा गरेको योगदान र स्तरवृद्धिमा साथ दिनका लागि प्रोत्साहनस्वरूप १० लाख रुपैयाँ दिएको भाटभटेनीले जनाएको छ । प्रोत्साहन रकमका लागि एकवर्षे सम्झौता गरिएको छ ।

‘नेपालकै सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनीबाट प्रोत्साहन पाउँदा खुसी छ,’ उषाले भनिन् । काठमाडौंमा दुई महिनाअघि भएको काभा वुमेन्स भलिबल नेसन्स लिगमा नेपाली टिम उपविजेता भएको थियो ।

नेपाली टिमको यो यात्रामा तनहुँकी २० वर्षीया उषाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । उनी फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट वुमेन्स लिग भलिबलमा काठमाडौं स्पाइकरमा मार्की खेलाडी रहेकी थिइन् ।

गत महिना माल्दिभ्समा भएको काभा वुमेन्स क्लब भलिबल च्याम्पियनसिपमा नेपाल पुलिस च्याम्पियन भएको थियो, जसमा उषाले च्याम्पियनसिपकै बेस्ट प्लेयर र बेस्ट आउटसाइड हिटरको अवार्ड जितेकी थिइन् ।

 

Translate »