२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

सिंजामा खस सभ्यताबारे बहस



 

जुम्ला । नेपाली खस भाषाको सुरुआत भएको स्थान यहाँको सिंजा गाउँपालिकाको नराकोट बजारमा खस सभ्यताको लोकसंस्कृति विषयमा प्राज्ञिक बहस तथा सांस्कृतिक प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रममा कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले सिंजा सुन, हिरा र मोतीमाथिको खजना भएकाले यसको संरक्षण तथा खोजी गर्न आवश्यक रहेको उल्लेख गरे । यहाँको खस सभ्यता जोगाउन सबै निकायको महत्वपूर्ण भूमिका रहने प्रदेश प्रमुख जोशीको भनाइ थियो ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल र कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदार आचार्यले सिंजाको सभ्यता संरक्षणका लागि संघीय र प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

सिंजामा प्रस्तुत कार्यपत्रमा डा। शशी थापा पण्डितले खस जातिको उत्पत्ति र सांस्कृतिक प्रभाव, संस्कृतिविद् शीतल गिरीले मस्टो र खस जातिबारे कार्यपत्र प्रस्तुत गरेका थिए । लोकवार्ता परिषद् नेपालको १३औँ सङ्गोष्ठीका अवसरमा खस सभ्यताका जानकारहरूको उपस्थिति रहेको थियो । बहससँगै खस सभ्यताका सांस्कृतिक कलाहरू प्रस्तुत गरिएको सिंजा गाउँपालिकाले जनाएको छ ।

लोकवार्ता परिषद् नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक डा. भवेश्वर पंगेनी, सल्लाहाकार प्राध्यापक डा माधवप्रसाद पोख्रेल, प्राध्यापक डा कुसुमाकर न्यौपाने, प्राज्ञ तथा लोकगायक यज्ञराज उपाध्याय, प्राध्यापक डा ध्रुवप्रसाद घिमिरे, मनोहर लामिछाने, डा शशी थापा पण्डितसहित २२ जना प्राज्ञिक व्यक्तित्वहरू र जुम्ला निवासी पत्रकार राजबहादुर कुँवरसहितको टोलीले सुर्खेत हुँदै, दुल्लु, कालीकोट, जुम्लाको सिंजा, तातोपानी र मुगुमा प्राज्ञिक बहस गरिएको लोकवार्ता परिषद् नेपालले जनाएको छ ।

सिंजाको नराकोटमा गत शनिबार सम्पन्न कार्यक्रममा स्थानीय मागल, वाल नाच, देउडा नाच, धामी नाच, रोपाइँ नाच, सिंगारुनाच, एकल गीतलगायत विभिन्न विधामा कला प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक १३ गते मंगलबार
Translate »