२०८३ कात्तिक २२ , शनिबार
Sky News Nepal
November 7, 2026

जाजरकोटमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३२ जना घाइते



सुर्खेत । जाजरकोटको नलगाड र कुदुमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३२ जना भएका छन् । आज विहान जिल्लाको बारेकोट लिम्साबाट जिल्ला सदरमुकाम खलंगा आउँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको छ ।

नलगाड नगरपालिका–४, बाउसेखोला जिरा प्वान्टको टोट्केमा भे १ ज ५९५ नम्वरको बोलेरो जीप दुर्घटना हुँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जाजरकोटले जनाएको छ ।

प्रहरीका अनुसार घाइते हुनेमा बारेकोट गाउँपालिका–२, लिम्साका ७० वर्षीया ओईला घर्ती, ७१ वर्षीया तुलसी पुन, ६० वर्षीया धनकली रोकाय, २२ वर्षिय आकाश घर्ती, ७८ वर्षीया निली सिंह, ८० वर्षिया पद्मी घर्ती, र ७० वर्षीया जैकली रोकाया रहेका छन् । दुर्घटनामा परेका दुई जनाको अवस्था गम्भिर रहेको छ ।

घाईतेलाई उद्दार गरी जाजरकोट जिल्ला अस्पताल ल्याईएको प्रहरीले जनाएको छ । आजै बाँकेको नेपालगञ्जबाट जिल्ला सदरमुकाम खलंगा जाँदै गरेको फोर्स गाडी कुदुमा दुर्घटना हुँदा २५ जना घाइते भएका हुन् । जाजरकोटका प्रहरी प्रमुख (डीएसपी) पुरुषोत्तम पाण्डेका अनुसार बा.४ ख १८९२ को फोर्स गाडी भेरी नगरपालिका–१३ कुदुमा दुर्घटना भएको हो ।

गाडीमा रहेका २५ जना यात्रु घाइते भएको र उनीहरुको उद्दार गरेर अस्पताल पठाइएको उनले बताए । घाइते मध्ये चालक प्रतिक चन्दको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार
Translate »