एनपीएलको विजेतालाई एक करोड १० लाख


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन टिमले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति जारी गर्दै प्लेअफ चरणमा पुगेका टिमहरूलाई प्रदान गरिने पुरस्कार राशिबारे जानकारी दिएको हो ।
क्यानका अनुसार उपविजेता टिमले ५१ लाख रुपैयाँ, तेस्रो स्थान प्राप्त गर्ने टिमले २५ लाख रुपैयाँ, र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ हात पार्नेछन् ।

एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन् । एलिमिनेटरमा बुधबार चितवन र कर्णालीबीच प्रतिस्पर्धा हुँदा पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् ।
दोस्रो क्वालिफायर बिहीबार हुनेछ । फाइनल खेल भने शनिबार हुनेछ ।


