२०८३ कात्तिक ९ , आइतबार
Sky News Nepal
October 25, 2026

अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै सुर्खेतका होटल तथा रेष्टुरेन्ट



वीरेन्द्रनगर । सुर्खेतमा सञ्चालित  होटल तथा रेष्टुरेन्टहरुले अङ्ग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न विशेष कार्यक्रम गर्ने भएका छन् ।

अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सुर्खेतमा रहेका होटल तथा पर्यटन व्यवसायीले विभिन्न आकर्षक प्याकेजसँगै साङ्गीतिक एवं सांस्कृतिक कार्यक्रम तय गरेका छन् ।

‘व्यवसायलाई चलायमान बनाउन परिस्थिति सुधारको पर्खाइभन्दा हामी आफ्नै अग्रसरतामा केही गर्नुपर्ने आवश्यकता देखिएको छ,’ नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले भने, ‘कम्तीमा आफ्ना नियमित पाहुनालाई नयाँ वर्षकै अवसर पारेर होटलसम्म ल्याउने र रमाउने वातावरण सृजना गर्न खोजेका छौं ।’ उनका अनुसार, नयाँ वर्षको अवसरमा साङ्गीतिक माहोलमा पारिवारिक वातावरण दिएर शुभ होटलले सहुलियत तर आकर्षक प्याकेज तयार गरेको छ ।

लागत मूल्यमा ‘लाइभ फुड’, ‘अनलिमिटेड स्न्क्याक्स’, ‘बुफे डिनर’ सहित लोकप्रिय राष्ट्रिय तथा स्थानीय कलाकारको लाइभ प्रस्तुति व्यवस्थापन गरिएको छ ।  आन्तरिक तथा बाह्य पर्यटकलाई व्यवस्थित बसाइसहित भिन्न र नयाँ प्रस्तुति होटल शुभले दिन खोजेको उल्लेख गर्दै भने, ‘स्थानीय संस्कृतिसँगै कलाकारलाई चिनाउन पनि हाम्रो कार्यक्रमले विशेष भूमिका खेल्नेछ ।’

वीरेन्द्रनगरकै सिद्दार्थ होटलले पनि नयाँ वर्ष २०२५ लाई भव्य रूपले स्वागत गर्न सांस्कृतिक कार्यक्रम सहित न्यु एयर इभ कार्यक्रमको आयोजना गरेको छ । त्यससँगै आफ्ना पाहुनाका लागि आकर्षक ‘लाइभबार’, ‘फुड काउन्टर’ जस्ता विशेषतासहितका आकर्षक प्याकेज तयार गरेको जनाएको छ । स्वागतका लागि साङ्गीतिक कार्यक्रमसहित विभिन्न स्वादका परिकार पस्किने योजना रहेको होटलका अप्रेशन म्यानेजर रामकृष्ण तिमिल्सेनाले बताए ।

यस्तै वीरेन्द्रनगर गोदामलाईनस्थित गोरेटो रेष्टुरेन्टले पनि चर्चित गायिका शान्तिश्री परियारलाई आज वीरेन्द्रनगरमा निम्त्याएको छ । गायिका परियारसहितको साङ्गीतिक प्रस्तुतिसँगै नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटन प्रवर्द्धनको तयारी गरेको रेष्टुरेन्ट जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुस १६ गते मंगलबार
Translate »