बीमा कम्पनी सुगममा मात्र होइन, दुर्गमसम्म पुग्नु पर्दछ : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुगम क्षेत्र मात्र केन्द्रित नभई दुर्गमका जिल्लाहरुमा समेत सेवा विस्तार गर्न बीमा कम्पनीहरुसँग आग्रह गरेका छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली जस्तो भौगोलिकरुपमा विकट र विपद्को उच्च जोखिममा रहेको क्षेत्रमा बीमा सेवाको पहुँच जीवनरक्षक सावित हुन सक्ने बताएका हुन् ।

नागरिकको जीवनस्तर उकास्न बीमा कम्पनीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै उनले कर्णाली विपद्को उच्च जोखिममा रहेकाले बीमा कम्पनीहरुले जनताको विश्वास जित्ने गरी काम गर्नु पर्नेमा जोड दिए । कर्णालीमा स्वास्थ्य, कृषि, पशुपालन, आवास, तथा विपद् बीमा जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न नेपाल बीमा प्राधिकरणसँग मुख्यमन्त्री कँडेलले आग्रह गरे ।

कर्णाली सरकारले अन्य प्रदेशलाई सिको गर्न सक्ने गरी सामूहिक जोखिम वीमा र निजी घर बीमा जस्ता कार्यक्रम अघि बढाएको उनको भनाइ थियो । उनले बीमा कम्पनीप्रति अहिलेपनि जनताको अविश्वास रहेकाले विश्वास बढाउने गरि बीमा कम्पनीहरुले काम गर्न सुझाव दिए ।

बीमा प्राधिकरणको वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै उनले निकट भविष्यमा बीमा सेवा कर्णालीका घर–घरमा पुग्ने विश्वास समेत व्यक्त गरे ।

Translate »