२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 25, 2026

संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई सक्षम बनाईनु पर्छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीयता कार्यान्वयनका लागि स्थानीय तहलाई सक्षम बनाईनु पर्ने बताएका छन् ।

आज कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको ‘प्रशिक्षण परिषद्’ को तेस्रो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले संघ तथा प्रदेशबाट आएका विकास कार्य कार्यान्वयन गर्ने क्षेत्र स्थानीय तह भएकाले पालिका सरकारलाई जिम्मेवार र सक्षम बनाईनु पर्ने जनाएका हुन् ।

‘संघ र प्रदेशले नीति तथा योजना बनाएपनि कार्यान्वयन गर्ने पाटो मुख्तहः स्थानीय पालिकाको हो,’ उनले भने, ‘संघ प्रदेश र स्थानीय तह बीचको सम्बन्ध जति सुदृढ हुन्छ, विकास र समृद्धिको गन्तव्यमा पुग्ने बाटो त्यति नै सहज हुनेछ ।’ उनले तीनै तह वीचको सहकार्य तथा समन्वयको पाटोलाई मजबुत बनाउन सके मात्रै संघीयताको मर्म अनुसारको लक्ष्य पुरा हुने जिकिर गरे ।

मुख्यमन्त्री कँडेलले संघ र प्रदेशले नीति तथा योजना बनाउने भएपनि कार्यान्वयन गर्ने ठाउँ स्थानीय तह नै भएकाले समन्वयको पाटोलाई सशक्त बनाईनु पर्नेमा जोड दिए । प्रदेश सरकारले सुरु गरेको ‘योजना बैंक’ लाई स्थानीय तहले अनुसरण गर्न आग्रह गर्दै उनले विगतको अनुभवबाट पाठ सिक्दै, तजबिजीका आधारमा योजना छनोट गर्ने प्रवृत्तिलाई सुधार गर्दै लैजानु पर्नेमा जोड दिए ।

‘केवल समस्या देखाउने मात्र होइन, समस्याको समाधानका उपाय पनि खोज्ने प्रवृत्तिको विकास गर्न सक्नु पर्दछ,’ उनले भने, ‘समस्या देखाउन सजिलो हुन्छ, तर त्यसको समाधानका लागि व्यवहारिक उपाय सुझाउनु अझ महत्वपूर्ण हुन्छ ।’

उनले विधि, थिति र कानुनको पालना गर्नु सबैको कर्तव्य भएकाले विभेद नगरी जनहितमा काम गर्न आग्रह गरे । संघीय व्यवस्थालाई प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८२ भदौ १६ गते सोमबार
Translate »