दशैंका लागि सुकिला नोट भदौ २९ गतेदेखि साट्न पाइने

काठमाडौं । आगामी दशैं पर्वका लागि सुकिला नोट सटही कार्यक्रम भदौ २९ गतेदेखि सुरु हुने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी दिएको हो ।

यो सुविधा राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथलीसहित प्रादेशिक कार्यालयहरू (विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी) उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, राष्ट्र बैंकबाट इजाजत प्राप्त ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत पनि सर्वसाधारणले नोट साट्न पाउने छन् ।

यो सुविधा असोज १० गतेसम्म रहने राष्ट्र बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ । यस वर्ष विजयादशमी असोज १६ गते पर्छ । घटस्थापना असोज ६ गते र फूलपाती असोज १३ गतेका दिन पर्नेछन् । दशैं पर्व घटस्थापनादेखि औपचारिक रुपमा सुरु हुन्छ।

Translate »