सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालनमा आयो


सुर्खेत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
नेपालीहरुका ठूला चाडपर्वहरु दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कम्पनीको प्रादेशिक कार्यालय परिसरभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।
हाललाई सुपथ मूल्य पसलमा ६ प्रकारका चामल, ३ प्रकारका खाने तेल र चिनी उपलब्ध रहेको प्रादेशिक कार्यालयका लेखापाल पर्वत सापकोटले जानकारी दिए । उनले चामल, चिनीमा प्रतिकिलो ५ र तेलमा प्रति लिटर ७ रुपैयाँ छुट दिईएको बताए ।
उनका अनुसार सुर्खेतमा अरुवा मोटा चामल, अरुवा मोटा चामलमा ‘पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस), अरुवा सोना मन्सुलि चामल, अरुवा सोना मन्सुलि ‘पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस), स्टिम जिरा मसिनो चामलसँगै स्टिम जिरा मसिनो चामल ‘पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस), सूर्यमुखि तेल, सोयाबिन तेल, तोरी तेल र चिनी सुपथ मूल्य पसलबाट विक्री वितरण शुरु भएको छ ।

प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा कर्णालीका उपभोक्तामा मागलाई मध्यनजर गरेर थप वस्तुको विविधिकरणका लागि केन्द्रसँग समन्वय भईरहेको बताए । उनले चाडपर्वमा दैनिक उपभोग्य वस्तुको माग अधिक हुने हुँदा बजार मूल्य अस्वाभाविक रुपमा बढ्न सक्ने भएकाले सहुलियत मूल्य पसल सञ्चालनले उपभोक्तालाई केही राहत पुग्ने जनाए ।
सोमबारदेखि सहुलियतमा खाद्यान्न सामान लिनेहरूको भिडभाड सुरु भएको छ । बिहान १०ः०० जबे देखि बेलुका ५ः०० बजेसम्म उक्त सुपथ मूल्य पसल खुल्ला हुने भएको छ । यसपटको सपथ मूल्य पसलमा धेरै नेपालीको भान्छामा एक छाक अनिवार्य भात नै हुने भएकाले ८ प्रकारका भिटामिन मिसाईएको चामल विक्रीमा राखिएको छ ।
त्यसलाई ‘पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) भनिएको छ। उक्त चामलमा भिटामिन ए, भिटामिन बी १, भिटामिन बी ३,६,९ र भिटामिन बी १२ पाइने कम्पनीको दावी छ ।
कम्पनीका अनुसार अनलाइन अर्डरमार्फत होमडेलिभरीको समेत व्यवस्था गरेको छ । यता साल्ट ट्रेडिङ्ग कर्पोरेसन शाखा सुर्खेतले चाडपर्वमा नुन र चिनी विक्री गर्दै आईरहेकोमा यस वर्ष नून मात्र विक्री शुरु गरेको कार्यालय प्रमुख नवराज अकौलियाले जानकारी दिए ।
उनले नूनमा यस वर्ष २ रुपैयाँ मात्र छुट दिईएको बताए । उनका अनुसार केन्द्रबाटै चिनी नआईसकेकाले हाललाई विक्री गर्न नसकिएको हो । आउने वित्तिकै चिनीपनि विक्री वितरण गरिने उनको भनाइ छ ।

