अब चाहिँदैन चार्जर, ५,७०० वर्ष चल्ने डायमन्ड ब्याट्री

एजेन्सी । कल्पना गर्नुहोस्, यस्तो ब्याट्री जसलाई कहिल्यै चार्ज गर्नु पर्दैन । यो पावर बैंक वा केही दिन टिक्ने ब्याट्री होइन । यो लगातार ५,७०० वर्षसम्म बिजुली उत्पादन गर्न सक्ने प्रविधि हो । यो सुन्दा असम्भव लाग्छ । तर, वैज्ञानिकहरूले यस्तो डायमन्ड ब्याट्री बनाउन थालेका छन् । यसलाई कार्बन–१४ बाट तयार गरिन्छ । शोधकर्ता ब्रिस्टल विश्वविद्यालय र क्यालिफोर्नियाको स्टार्टअप एनडीबी इन्क सँगै काम गरिरहेका छन् । न्यूक्लियर फोहोरलाई प्रयोग गर्ने यो अवधारणा सरल लाग्छ । तर, यसको प्रभाव अत्यन्त ठूलो छ । फोहोरलाई कृत्रिम डायमन्डमा कैद गरिन्छ । त्यसपछि त्यो स्थिर र सुरक्षित ऊर्जा स्रोत बन्छ ।

कसरी काम गर्छ ?

मुख्य कुरा कार्बन–१४ हो । यो परमाणु रिएक्टरमा प्रयोग हुने ग्रेफाइट ब्लकमा पाइन्छ । यसको अर्ध–आयु ५,७३० वर्ष हुन्छ । यसले लगातार ऊर्जा निकाल्छ । यो तत्त्वलाई कृत्रिम डायमन्डभित्र राखिन्छ ।

डायमन्डले ढालको काम गर्छ र विकिरणलाई बिजुलीमा बदल्छ । प्रोफेसर टम स्कट यसका अग्रणी हुन् । उनले भन्छन्, ‘यस्तो ब्याट्रीमा कुनै चलायमान भाग हुँदैन । ग्यास निस्किँदैन ।’ यसलाई मर्मतसम्भार चाहिँदैन । न्यूक्लियर फोहोर पुनः प्रयोग हुन्छ ।

अन्तरिक्षका लागि उपयुक्त

अन्तरिक्ष अन्वेषणमा यसको प्रयोग धेरै उपयोगी हुन्छ । सौर्य प्यानल सूर्यनजिक मात्र राम्रो काम गर्छ । हालका जेनेरेटर प्लुटोनियम–२३८ मा निर्भर छ, जुन दुर्लभ छ । डायमन्ड ब्याट्रीले यन्त्रलाई शताब्दीयौंसम्म चलाउन सक्छ । यसले लामो अन्तरग्रहीय मिशन सम्भव बनाउँछ । नासाले पनि यसमा चासो देखाइरहेको छ ।

पृथ्वीमा प्रयोग

पृथ्वीमै पनि यसका उपयोग धेरै छन् । चिकित्सामा यस्तो ब्याट्री भएको पेसमेकर जीवनभर टिक्छ । फेरि शल्यक्रिया गर्नु पर्दैन । दूरदराज वा खतरनाक स्थानका सेन्सर पनि लगातार काम गर्छन् । प्राकृतिक विपत्ति हुने ठाउँमा अस्पताललाई ऊर्जा दिन सकिन्छ । भविष्यमा यसले फोन वा ल्यापटप पनि चलाउन सक्छ । तर, विशेषज्ञहरु भन्छन्, अझै धेरै परीक्षण आवश्यक छ ।

ठूला चुनौती

कृत्रिम डायमन्ड ठूलो मात्रामा उत्पादन गर्न महँगो छ । रेडियोधर्मी पदार्थ प्रयोग कडा नियममा पर्छ । ‘न्यूक्लियर ब्याट्री’ भन्ने नामले नै मानिस डराउँछन् । तर, वैज्ञानिकहरू भन्छन्, ‘यसको विकिरण मानव शरीरभन्दा पनि कम हुन्छ ।’ यसैले यो सुरक्षित मानिन्छ ।

भविष्यतर्फ

यो प्रविधिको सम्भावना विशाल छ । तर, तुरुन्तै लोकप्रिय हुने होइन । सबैभन्दा आशावादी अनुमानले पनि १० वर्ष लाग्छ भन्छन् । यदि प्रविधि सफल भयो भने यसले हाम्रो शताब्दीलाई बदल्न सक्छ । फोहोरलाई सफा र लगभग अनन्त ऊर्जामा बदल्ने उपाय बन्न सक्छ । आर्थिक अभियान/युनियनरेबाट

Translate »