योजना अधुरो छाड्ने प्रवृति निरुत्साहन गर्न मुख्यमन्त्री कँडेलको निर्देशन


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारको वार्षिक बजेटबाट सञ्चालन हुने विकास आयोजनाहरु अधुरो रहने गरी बजेट छुट्टाउने प्रवृति अन्त्य गर्न निर्देशन दिएका छन् ।
विगतमा एक वर्षे बजेटलाई बहुवर्षीय आयोजनाजस्तै गरी आधा काम गरेर छाड्ने प्रवृत्ति मौलाउँदै गएको भन्दै अब त्यसको अन्त्य गर्नुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिएका हुन् । कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई मंगलबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले योजनाको छनोटदेखि कार्यान्वयनसम्म गम्भीरतापूर्वक सोच्न आवश्यक रहेको उल्लेख गरे ।

उनले स्रोत सुनिश्चितता भइसकेका तथा बहुवर्षीय आयोजना बाहेकका योजनाहरुमा विनियोजन गरिएको बजेटले नै सबै काम एकै आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । विकास आयोजनाहरु प्रभावकारी बनाउन यथार्थपरक योजना निर्माण, स्पष्ट प्राथमिकता निर्धारण र समयमै कार्यान्वयन अपरिहार्य रहेको बताउँदै उनले योजना बनाउँदा स्थानीय आवश्यकता, कार्यान्वयन क्षमता र बजेटको आकारलाई ध्यानमा राख्नुपर्ने औल्याए ।
काम सुरु गरेपछि समयमै सम्पन्न हुने गरी अनुगमन र मूल्यांकन प्रणालीलाई समेत थप प्रभावकारी बनाईनुपर्ने उनको भनाइ थियो । विकास निर्माणका काममा ढिलासुस्ती, समन्वयको अभाव र जिम्मेवारी पन्छाउने प्रवृत्ति अब स्वीकार्य नहुने भन्दै उनले कार्यसम्पादनमा स्पष्ट जवाफदेहिता आवश्यक रहेको बताए ।
बैठकमा सहभागी मन्त्री तथा सचिवहरुलाई मुख्यमन्त्री कँडेलले आ–आफ्नो मन्त्रालय अन्तर्गतका योजनाहरुको प्रगति नियमित रुपमा समीक्षा गर्न निर्देशन दिए । बैठकमा प्रदेश सरकारका सबै मन्त्रालयका मन्त्री तथा सचिवहरुको उपस्थिति रहेको थियो ।

