२०८३ भदौ ८ , सोमबार
Sky News Nepal
August 24, 2026

काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोड्न मुख्यमन्त्री कँडेलको निर्देशन



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा काम नगरेर आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीको ठेक्का तोड्न निर्देशन दिएका छन् ।

प्रदेशको भौतिक योजना तथा शहरी विकास मन्त्रालयको अर्ध वार्षिक कार्यक्रमलाई आज सुर्खेतमा सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले जतिसुकै पहुँच र शक्ति भएपनि समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का प्रक्रिया मिलाएर ठेक्का तोड्न निर्देशन दिएका हुन् । उनले वर्षेनी आवश्यक बजेट छुट्टयाउने तर निर्माण ठेकेदारले समयमा आयोजनाको काम सम्पन्न नगरेर अलपत्र पार्दा त्यसले सरकारप्रति नै नागरिकको अविश्वास पैदा हुने गरेको जनाए ।

‘पैसा छ, काम भइरहेको छैन र योजनालाई अलपत्र छाड्छ भने त्यस्ता निर्माण व्यवसायीप्रति सरकार लचिलो हुनुपर्ने कुनै जरुरी र्छैन,’ उनले भने, ‘सकेसम्म निर्माण व्यवसायीलाई सहजीकरण गरेर आयोजना सपन्न गर्ने दायित्व तिर लाग्न र सहजीकरणले समेत परिणाम नदेखिए नियमसंगत रुपमा ठेक्का अन्त्य गरि दिनुहोस् ।’

मुख्यमन्त्री कँडेलले प्रदेश राजधानी अन्तरगतका सडक निर्माणमा लापरवाही गर्दा पूर्वमन्त्रीको समेत ठेक्का तोडिएको बताउँदै ठेक्का तोडिएका ती आयोजनाहरुलाई पुनः सञ्चालन गर्न आवश्यक तयारी समेत गर्न निर्देशन दिए ।

‘समयमा काम सम्पन्न नगरेपछि हामी बाहलवाला सांसद र मन्त्रीसमेत संग्लन भएको ठेक्का तोडेका छौं, पावरबाट नडराउनुहोस्, सरकार त्यसको जिम्मा लिन्छ,’ उनले भने, उनले भने, ‘काम सम्पन्न गरिसकेपछि भुक्तानीमा ढिलाई नगर्नु होस् । निर्माण व्यवसायीले काम गरेको छ भने बाहाना नबनाउनुस, बोलाएर भुक्तानी दिनुहोस्।’

उलने पुरानै मानसिकताले नागरिकले खोजे जस्तो परिणाम दिन सम्भव नभएकोले सबैले कार्यशैली समेत बदल्नुपर्नेमा जोड दिए । नागरिकको अपेक्षा र राज्य सयन्त्रका कार्यशैलीबीच निकै खाडल रहेकोले परम्परागत कार्यशैलीले परिणाम सम्भव नहुने मुख्यमन्त्री कँडेलको भनाइ थियो । उनले रिजल्ट खोजिरहेको र नागरिकले खोजे जस्तै रिजल्ट दिने विषयमा पुरानै कार्यशैलीले सम्भव नहुने बताए ।

‘हाम्रा र तपाईका आफ्ना कुरा होलान तर अब पनि पुरानै मानसिकताले काम गर्नु भयो भने रिजल्ट सम्भव छैन्,’ उनले भने, ‘बजेट र कार्यक्रम बनाउँदा राजनीतिक नेतृत्वको भूमिका रहने भएपनि त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी कर्मचारीतन्त्रको हुने भएकोले कार्यकारी भूमिकामा रहेर कार्य सम्पादन गर्नुहोस् ।’

उनले नेता रिसाइहाल्छन् कि भनेर नहुने काम बोकेर नहिड्न पनि कर्मचारीहरुलाई निर्देशन दिए । उनले भने, ‘हुने र नियमसँगत काम रोक्न पाउनुहुन्न तर नहुने काममा नेताको मन राख्नेतिर नलाग्नुहोस् ।’

कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन बमले पछिल्ला ३ वर्ष भन्दा अघिका केही आयोजनाहरु रुघ्न रहेकोले त्यसबारे समयमा निर्णय लिनुपर्ने बताए । उनले चालु आवमा करिव ८२ प्रतिशत खरिद प्रक्रियामा गइसकेको र केही बहुवर्षिय आयोजना स्वीकृतीको चरणमा रहेकोले माघ मसान्तसम्म सबै आयोजना ठेक्का प्रक्रियामा गइसक्ने जानकारी दिए ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार
Translate »