अख्तियार नेपालगन्ज कार्यालयद्वारा ९७३ उजुरी फर्छ्यौट

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले ९७३ वटा उजुरी फर्छ्यौट गरेको छ ।

आयोगले आर्थिक बर्ष २०८१/०८२ मा ७८८ र चालू आर्थिक वर्षको हालसम्म १८५ वटा उजुरी फर्छ्यौट गरेको हो । गत आर्थिक वर्षमा ९०२ र चालू आर्थिक वर्षमा ४७१ उजुरी दर्ता भएको कार्यालय प्रमुख झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आज सम्पर्क कार्यालय नेपालगन्जमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख चापागाईँले दाङ, बाँके, बर्दिया र रोल्पा कार्य क्षेत्र रहेको नेपालगन्ज कार्यालयमा सबैभन्दा बढी स्थानीय तहका उजुरी परेको बताए । उनका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी २५ उजुरी बर्दियाको बढैयाताल गाउँपालिकाको परेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले भ्रष्टाचार नियन्त्रण गर्न सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै शुभकामना दिएका थिए ।

स्थापना दिवसमा २० हजार रुपैयाँ राशिको अख्तियार अनुसन्धान सेवा पुरस्कार इन्जिनियर हेमबहादुर सिंजाली र १० हजार रुपैयाँ राशिको अख्तियार सेवा पुरस्कार रन्जित अधिकारीलाई प्रदान गरिएको छ । यसैगरी स्थापना दिवसको अवसरमा आयोजित क्रिकेट, टेबल टेनिस र ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने कर्मचारीलाई समेत पुरस्कृत गरिएको थियो ।

Translate »