चार महिनापछि (नेपाल–चीन) यारी नाका सञ्चालनमा आयो


हुम्ला । कर्णाली प्रदेशको हुम्ला सीमासँग जोडिएको (नेपाल–चीन) यारी भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ ।
नारा लेकको हिउँ पन्छाइसकेपछि अहिले पूर्णरुपमा नाका सञ्चालनमा आएको हो । भन्सार कार्यालय प्रमुख रामराज जैसीले अब नियमित रूपमा कार्यालय सञ्चालनमा आउने र सामान आयात पनि सुरु हुने जनाए । उनका अनुसार गएको पुस महिनासम्म १७ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

नाका खुलेसँगै हुम्लाका युवायुवती चीनको ताक्लाकोट काम गर्न जानेको गरेका छन् । नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै चीनको ताक्लाकोट काम गर्न जानेक्रम शुरु भएको छ । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट नेपाली कामदारको रोजाईमा पर्दछ ।
ताक्लाकोटमा व्यापार र रोजगारीका लागि जाने हुम्लीलाई एक वर्षसम्म मान्य हुने पास स्थानीय प्रशासनले प्रदान गर्दै आएको छ । नेपाल र चीन सरकारको सहमतिमा उक्त व्यवस्था भएको हो ।
नेपालीले फुरु, गुच्चीच्याउ, थाक्ना, जडीबुटीलगायत सामान ताक्लाकोटमा बेच्ने गरेका छनभने उताबाट दैनिक उपभोग्य सामान, लत्ताकपडा, इन्धन, विकास निर्माणका सामग्री आयात हुने गरेको छ ।

