२०८३ असोज ४ , आइतबार
Sky News Nepal
September 21, 2026

‘सेफगार्डिङ्ग’ प्रणालीलाई अनिवार्य गर्दै नेपाल रेडक्रस



सुर्खेत । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले कार्यस्थलमा सुरक्षित वातावरण निर्माण गर्न ‘सेफगार्डिङ्ग’ प्रणालीलाई संस्थागत गर्न लागेको छ ।

नेरोसोले ‘सेफगार्डिङ्ग’ प्रणालीलाई प्रभावकारी बनाउन शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफ्ना कार्य समितिका पदाधिकारी, सदस्य, सबैका तहका कर्मचारी, रक्त सञ्चार सेवा र सुर्खेत आँखा अस्पताल व्यवस्थापन समितिका पदाधिकारलाई ‘सेफगार्डिङ्ग सम्बन्धि अनिवार्य अभिमुखिकरण कार्यक्रम’ गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी सुर्खेत आँखा अस्पतालका संयोजक रामलाल आचार्यले कार्यस्थलमा बालबालिका, युवा, जोखिममा रहेका वयस्कलाई दुव्र्यवहार, शोषण र हानिबाट जोगाउनु नै ‘सेफगार्डिङ्ग’ अभिमुखिकरणको मुख्य उद्देश्य रहेको बताए । उनले नेपाल रेडक्रसले यौन शोषण, दुव्र्यवहार तथा उत्पीडनप्रति शून्य सहनशीलताको नीति अवलम्वन गरेको जानकारी दिए ।

‘यौन दुराचारमा शुन्य सहनशीलता, हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित शुरु भएको कार्यक्रममा सुर्खेत आँखा अस्पतालका निर्देशक आकांक्षा रानाले कार्यस्थलमा संरक्षण (सेफगार्डिङ्ग) प्रणालीलाई प्रभावकारी तरिकाले संस्थागत गरिनु स्वागतयोग्य कदम भएको बताईन् । कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक किस्मत बुढामगरले पछिल्लो समय कर्णालीमा पनि लैङगिक हिंसाका घटनाहरु बढ्दै गईरहेको बताए ।

उनले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा देशभर दर्ता भएका २१ हजार ६ सय ६७ उजुरी मध्य २ हजार दुई सय ५३ वटा उजुरी जवरजस्ती करणका दर्ता भएको जनाए । त्यसमा उक्त आवमा कर्णाली प्रदेशभर १ हजार दुई सय १० वटा उजुरी जवरजस्ती करणीका दर्ता भएका थिए । यस्तै घरेलु हिंसाका १७ हजार ४ सय ९६ वटा उजुरी दर्ता भएका थिए । गएको आर्थिक वर्ष २०८२/०८३ मा कर्णालीमा ३ सय मुद्धा दर्ता भएकोमा १ सय ८३ वटा जवरजस्ती करणीका रहेका छन् ।

नेपाल रेडक्रस सोसाइटी ‘सेफगार्डिङ्ग’ कार्यक्रमका संयोजक सुभेच्छा मानन्धरले संरक्षण र ‘सेफगार्डिङ्ग’ लक्षित गतिविधिहरु नेरेसोले केन्द्रदेखि प्रदेश, जिल्ला तहसम्म प्रभावकारीरुपमा कार्यान्वयन गर्न लागेको बताईन् । उनले आफ्ना स्वयंसेवक, कर्मचारी, र समुदायको सुरक्षा सुनिश्चित गर्न अनिवार्य सेफगार्डिङ्ग (संरक्षण) गर्ने नीति नेरोसोले प्रभावकारी रुपमा कार्यान्वयन गर्न लागेको जनाईन् ।

रेडक्रसको मानवीय कार्यका क्रममा हुन सक्ने दुव्र्यवहार र शोषण रोक्न यो अभिमुखीकरण मार्गदर्शक सामग्रीका रुपमा लिने गरिएको उनको भनाइ थियो । उनले यौन शोषण तथा यौेन दुव्र्यवहार तथा उत्पीडन चिनजानको मान्छेबाटै हुने गरेको पाईएको जनाईन । उनले भनिन्, ‘आफ्नै नातागोता लाग्ने, अथवा कुनै कारणले चिनजान हुने गरेको शक्तिको पहुँचवालाले कमजोरमाथि यौन उत्पीडनका घट्ना हुने गरेका छन् ।’

नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय निर्देशक दिव्यराज पौडेलले कार्यस्थलमा समुदाय र सहायताकर्मीलाई सबै प्रकारका दुव्र्यवहार र विभेदबाट बचाउने संस्कृतिको विकास गर्न नेरेसोका सबै तहका स्वयंसेवक र कर्मचारीहरुलाई प्रेरित गर्न सेफगार्डिङ्ग अभिमुखिकरण दिने गरिएको बताए । उनले कार्यस्थलमा दुव्र्यवहारको प्रमाणित प्रमाण नभए पनि शंका लागेमा संस्थाले तोकेको फोकल व्यक्ति वा हटलाइन मार्फत जानकारी दिन सुझाव दिए ।

‘कार्यस्थलमा पालना गर्नुपर्ने आचारसंहिता शून्य सहनशीलता विपरित दुव्र्यवहार, उत्पीडन वा शोषणमा कुनै सम्झौता हुँदैन,’ उनले भने, ‘जात, लिंग, धर्म वा वर्गका आधारमा भेदभाव गर्न पाइँदैन । सेवाग्राही वा बालबालिकासँग व्यावसायिक दूरी कायम राख्नुपर्छ ।’ उनले मन्जुरी बिना कसैको तस्बिर वा व्यक्तिगत विवरण खिच्न र साझा गर्न निषेध गरिएको जनाए ।

‘राहत वा सेवाको सट्टामा कुनै अनुचित लाभ (यौन वा आर्थिक) लिने, शक्ति, पद वा रेडक्रसको लोगोको दुरुपयोग गर्ने, एकल वा असुरक्षित स्थानमा सेवाग्राहीलाई एक्लै भेट्ने, कुनै पनि हिंसा वा दुव्र्यवहार देखेमा तुरुन्त रिपोर्ट गर्नु पर्छ,’ उनले भने, ‘स्थानीय संस्कृति र मूल्य मान्यताको कदर गर्दै बालबालिका र महिलाको मर्यादाको सम्मान गर्नु पर्छ । रेडक्रसले सेफगार्डिङ्ग उल्लंघनका घटनाहरु संकलन र सम्बोधन गर्न आफ्नै विशेष प्रणाली विकास गरेको छ ।’

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयका लियाजन अफिसर ईश्वरी पन्तले नेरेसोका स्वयंसेवक, कर्मचारी, र समुदायको सुरक्षा सुनिश्चित गर्न अनिवार्य सेफगार्डिङ (संरक्षण) नीति सबै क्षेत्रमा लागू गर्न आवश्यक बन्दै गईरहेको औल्याए । उनले सेफगार्डिङ्गलाई मध्यनजर गर्दै विपद् वा उद्धारका समयमा महिला, बालबालिका र जोखिममा रहेका समूहलाई प्राथमिकताका साथ सुरक्षित राख्नु रेडक्रसकर्मीको मुख्य दायित्व रहेको औल्याए ।

कार्यक्रममा सुर्खेत आँखा अस्पतालका व्यवस्थापक घनबहादुर थापालगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिबार
Translate »