

सुर्खेत । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले बालबालिकाको सर्वाङ्गीण विकास र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विहीबार वीरेन्द्रनगरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुका लागि ‘स्वर्णबिन्दु प्राशन’ अभिमुखीकरण कार्यक्रम गरेको छ ।
केन्द्रले अभिमुखिकरण कार्यक्रम मार्फत स्वास्थ्यकर्मी र सरोकारवालाहरुलाई स्वर्णबिन्दु प्राशनको महत्व, खुवाउने विधि र पुष्य नक्षत्रको मितिबारे प्रशिक्षित गरेको हो । ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमलाई सबै बालबालिकाको पहुँचसम्म पु¥याएर रोगप्रतिरोधात्मक क्षमता वृद्धि, स्मरण शक्ति र बौद्धिक विकास सुधार गर्नुनै मुख्य उद्देश्य रहेको अस्पतालका निर्देशक डा. लक्ष्मीनारायण तिवारीले बताए ।
उनले परीक्षणका रुपमा यसअघि २०७९ सालदेखि नै राष्ट्रिय कार्यक्रमकै रुपमा देशका केही जिल्लाबाट शुरु गरिएको ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम गएको आर्थिक वर्षदेखि कर्णालीका तीन जिल्लामा सञ्चालन भईरहेको जानकारी दिए । प्राचीनकालदेखि नै आयुर्वेदमा ‘स्वर्णबिन्दु प्राशन’ मार्फत बालबालिकाको स्वास्थ्य संरक्षण, प्रवद्र्धन र उपचार गरिदै आएको उनको भनाइ थियो ।

‘प्राचीन आयुर्वेदिक चिकित्सा पद्धतिलाई आधुनिक विज्ञानसँग जोडेर कर्णालीमा स्वस्थ तथा मेधावी पुस्ता निर्माण गर्न ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रम मार्फत सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘आगामी पुस्तालाई निरोगी बनाउने लक्ष्यअनुरुप कर्णालीमा सञ्चालित ‘स्वर्णबिन्दु प्राशन’ कार्यक्रमलाई प्रभावकारी सञ्चालन गर्न सरोकारवालाको सहयोगको अपेक्षा गरेको छु ।’
अभिमुखिकरण कार्यक्रममा डा. खेमराज तिवारीले स्वर्ण भस्मलाई घ्यू र महमा मिसाएर तयार पारिएको लेह (पेस्ट) बालबालिकालाई खुवाउने विधिलाई नै ‘स्वर्णबिन्दु प्राशन’ भनिने गरिएको बताए । उनले स्वर्णबिन्दु प्राशनको प्रयोगले बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई तीव्र बनाउनुका साथै रोगसँग लड्ने क्षमता बढाउन मद्दत पु¥याउने गरेको जनाए ।

‘६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई हरेक महिना ‘पुष्य नक्षत्र’ परेको दिनमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिएको मात्रामा स्वर्णबिन्दु प्राशन खुवाइन्छ,’ उनले भने, ‘तर, ज्वरो, अजीर्ण, झाडापखाला, आउँ, रुघाखोकी जस्ता स्वास्थ्य समस्या भएका बालबालिकालाई भने स्वर्णबिन्दु प्राशन खुवाउनु हुँदैन् ।’

उनले स्वर्णबिन्दु प्राशन तयार गर्ने र खुवाउने सही तरिका नमिलेमा प्रतिकुल परिणाम समेत दिने गरेको जनाए । उनका अनुसार अभिमुखिकरणको मुख्य उद्देश्य लक्षित उमेर समूह (विशेषगरी साना बालबालिका) को पहिचान गरी स्थानीय स्तरका स्वास्थ्य संस्था र आयुर्वेद औषधालयहरुमा स्वर्णबिन्दु प्राशन कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नु हो ।
‘बालबालिकामा बढ्दो उमेरका क्रममा विभिन्न शारीरिक, मानसिक विकासका अनेक चरणहरु हुने भएकाले संक्रमण सम्भावना अत्याधिक हुने गर्छ,’ उनले भने, ‘स्वर्णविन्दु प्राशनको प्रयोगबाट बालबालिकामा बुद्धि, स्मरणशक्ति, वाणी, पाचनशक्ति र शारीरिक बल बृद्धि हुने गरेको पाइन्छ ।’
बालबालिकालाई आवश्यकताको आधारमा २ थोपादेखि ४ थोपासम्म नियमित खुवाईने गरिन्छ । अभिमुखिकरण कार्यक्रमको सहजीकरण अस्पतालका कविराज निरीक्षक पुष्पा आचार्यले गरेकी थिइन् ।












