

सुर्खेत । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ, नेपालले वर्तमान स्थानीय सरकारको कार्यकालको अन्तिम वर्षलाई परिणाममुखी बनाउन आग्रह गरेको छ ।
महासंघले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र मार्फत प्रदेश तथा स्थानीय सरकारबीचको अन्तरसम्बन्ध सुदृढीकरण, स्थानीय शासन सबलीकरण तथा स्थानीय सरकारका समसामयिक समस्या समाधान गर्नका लागि आग्रह गरेको हो ।
वर्तमान स्थानीय सरकारको कार्यकालको अन्तिम वर्षलाई परिणाममुखी बनाउन बेरुजु फर्स्योट, वित्तीय अनुशासन, स्थानीय सरकारका असल अभ्यासको दस्तावेजीकरण, उपलब्धिको अभिलेखीकरण तथा संगठन तथा व्यवस्थापन सर्वेक्षणमा प्रदेश सरकारले सहयोग गर्नुपर्ने माग ज्ञापनपत्र मार्फत गरिएको छ।
मुख्यमन्त्रीलाई बुझाईएको ज्ञापनपत्रमा संविधानले परिकल्पना गरेको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तअनुसार प्रदेश र स्थानीय सरकारबीचको सम्बन्धलाई निर्देशनमुखी नभई साझेदारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिइएको छ।

संविधानको धारा २३५ बमोजिम प्रदेश र स्थानीय तहबीच समन्वय तथा विवाद समाधानसम्बन्धी कानुन निर्माण गर्नुपर्ने भए पनि कर्णालीमा अझै यस्तो कानुन बन्न नसकेको भन्दै प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरिएको छ । साथै, प्रदेशस्तरमा विषयगत समितिको व्यवस्था गरी प्रदेशका विषयगत मन्त्रालय र स्थानीय सरकारबीच प्रत्यक्ष समन्वय स्थापित गर्नुपर्ने सुझाव दिइएको छ ।
प्रदेश र स्थानीय सरकारले निर्माण गरेका कानुनको एकीकृत अभिलेखीकरण प्रणाली विकास, प्रदेश सभा र स्थानीय सभाबीच विधायिकी अन्तरसम्बन्ध कायम, कानुनको उत्तरविधायिकी परीक्षण तथा स्थानीय सरकारका महत्वपूर्ण कार्यहरूको अभिलेखीकरण प्रणाली स्थापना गर्नुपर्ने विषय पनि ज्ञापनपत्रमा समेटिएका छन् ।
सुशासन तथा प्रशासनिक सुधारतर्फ स्थानीय तहको बेरुजु फर्स्योटमा प्राविधिक सहयोग, संगठन तथा व्यवस्थापन सर्वेक्षणमा सहजीकरण, सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीतिको स्थानीयकरण तथा प्रदेश–स्थानीय प्रशासनिक अन्तरसम्बन्ध सुदृढ गर्न प्रशासनिक परिषद्को व्यवस्था गर्नुपर्ने माग गरिएको छ।
ज्ञापनपत्रमा प्रदेशबाट स्थानीय तहमा जाने समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समयमै, पारदर्शी र पूर्वानुमानयोग्य रूपमा उपलब्ध गराउने व्यवस्था गर्नुपर्नेमा विशेष जोड दिइएको छ। अनुदानमा हुने ढिलाइले स्थानीय तहको बजेट कार्यान्वयन, योजना व्यवस्थापन र सेवा प्रवाहमा प्रत्यक्ष असर पर्ने उल्लेख गरिएको छ।











