२०८३ भदौ २० , शनिबार
Sky News Nepal
September 5, 2026

सामाजिक विकास मन्त्रालय रेडक्रस सोसाइटीसँग सहकार्य गरेर अगाडि बढ्छ : सचिव श्रेष्ठ



सुर्खेत । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव रोशनीकुमारी श्रेष्ठले विपद् व्यवस्थापन, सामाजिक सुरक्षा तथा मानवीय सेवाको क्षेत्रमा नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरेर अगाडि बढ्ने बताएकी छन् ।

आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल रेडक्रस सोसाइटी सुर्खेतको ४५ औं वार्षिक साधारण तथा नेपाल रेडक्रस सोसाईटीको ६४ औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन जनताको हित र सामाजिक विकासका लागि विभिन्न संघसंस्थाहरुसँग हातेमालो गरिरहेको सन्दर्भमा रेडक्रस जस्तो स्थापित र विश्वसनीय मानवीय संस्थासँगको सहकार्यलाई अझ मजबुत बनाइने बताएकी हुन् ।

‘महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रमहरुमा रेडक्रसको स्वयंसेवी सञ्जाललाई परिचालन गरी समुदायस्तरमै प्रभावकारी काम गरिने छ,’ उनले भनिन्, ‘सरकारी प्रयास र गैरसरकारी क्षेत्रको अनुभव एवं जनशक्तिलाई एकाकार गर्दै विपन्न तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधारका लागि मन्त्रालयले नीतिगत र व्यावहारिक समन्वय गर्नेछ ।’

उनले कर्णाली विपद्को उच्च जोखिममा रहेको हुनाले बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपका समयमा तत्काल उद्दार, राहत एवं पुनस्र्थापनाका कार्यलाई प्रभावकारी बनाउन मन्त्रालय र रेडक्रस एकीकृत रुपमा अगाडि बढ्न आवश्यक रहेको औल्याईन् । कार्यक्रममा सुर्खेत जिल्ला सभापति रामलाल आचार्यले विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रुपमा २०२० साल भदौ १९ गतेका दिन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघको सदस्य तथा रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको जानकारी दिए ।

उनले सोसाइटीका करिव १० लाखभन्दा बढी स्वयंसेवकहरु मानवीय सेवाका कार्यहरुमा तल्लीन रहेका बताए । उनका अनुसार हाल सोसाइटीको सात प्रदेश समिति, ७७ जिल्ला शाखा, एक हजार ६२३ उपशाखा, ११५ सहयोग समिति र छ हजार ५८७ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचनाहरु रहेका छन् ।

नेपाल रेडक्रसले सरकारको सहयोगीका रुपमा रही संगठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा संकट, व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधिहरु देशैभरि सञ्चालन भईरहेको जानकारी दिए ।

नेपाल रेडक्रसको स्थापना दिवसको अवसरमा सुर्खेत जिल्ला शाखा र सुर्खेत आँखा अस्पतालले संयुक्तरुपमा विभिन्न मानवीय एवं चेतनामूलक कार्यक्रमहरु आयोजना गरी ६४औं स्थापना दिवस मनाएका हुन् । ‘मानवताको लागि एकबद्ध होऔं’ भन्ने नाराका साथ मनाईएको दिवसमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाही, नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका कार्यवाहक अध्यक्ष कटकबहादुर शाही, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा (डीएसपी) कविन्द्रसिंह बोहरा, रेडक्रस कर्णाली प्रदेशका सदस्य अमृता सापकोटा, दुर्गबहादुर शाही र रेडक्रस मुगु जिल्ला सभापति जयबहादुर मल्लले आ–आफ्ना विचारसहितको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा सुर्खेतका नौ वटै पालिका शाखासहित उपशाखाका प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागितामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक समीक्षा, भावी योजना तथा सांगठनिक विकासका विषयमा छलफल गरिएको थियो । वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२को प्रगति प्रतिवेदन र आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित कार्यक्रमसँगै आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदन एवं आर्थिक वर्ष २०८३/८४ को प्रस्तावित बजेट र अन्य विभिन्न प्रस्तावहरु पारित गरेको हो ।

प्रकाशित मिति : २०८३ भदौ १९ गते शुक्रबार
Translate »