

काठमाडौं । नेपालमा भोटेकोशी र त्रिशूली नदी करिडोर आसपासका क्षेत्रमा भीषण बाढी आएको ११ दिनपछि शनिवार दुई छुट्टाछुट्टै बाढी प्रभावित क्षेत्रबाट एकजना नेपाली महिला र एकजना चिनियाँको जीवितै उद्धार गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नुवाकोट जिल्लाको बाढी प्रभावित बेत्रावती बजारमा आनन्द श्रेष्ठको घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको शनिवार उद्धार गरिएको हो ।नुवाकोटको विदुर नगरपालिका–१० निवासी श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर सुमन विकको नेतृत्वमा रहेको टोलीले उद्धार गरेको हो । उनी अचेत अवस्थामा फेला परेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उद्धारपछि उनलाई हेलिकोप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेक लगिएको थियो । प्रारम्भिक उपचारपछि आवश्यक परे थप उपचारका लागि उनलाई काठमाडौं लगिने प्रधानमन्त्री कार्यालयलले जनाएको छ ।
यसैबीच, बाढी आएको ११ दिनपछि रसुवा जिल्लामा बाढी प्रभावित २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एकजना चिनियाँको जीवितै उद्धार गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेनाले दक्षिण कोरियाको विपद् विज्ञ टोलीसँगको समन्वयमा आयोजनाको सुरुङको अडिट–४ बाट चिनियाँको उद्धार गरेको हो ।

उद्धार गरिएका चिनियाँलाई थप स्वास्थ्य परीक्षण तथा उपचारका लागि नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेक लगिएको छ । गत साता नेपालका भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाका सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि जारी तीव्र प्रयासअन्तर्गत पछिल्लो उद्धार गरिएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानका अनुसार रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित ११ जलविद्युत् आयोजनामध्ये निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सबैभन्दा धेरै व्यक्ति सम्पर्कविहीन छन् । इप्पानले शुक्रवार साँझ दिएको जानकारीअनुसार ११ ओटा जलविद्युत् आयोजनामा कार्यरत ९३६ जना सम्पर्कविहीन छन्, जसमध्ये ५५१ जना माथिल्लो त्रिशूली–१ आयोजनाका छन् ।
शुक्रवार नेपाली सेनाले नुवाकोट जिल्लाको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुईजना नेपालीको जीवितै उद्धार गरेको थियो । नेपाली सेनाले विभिन्न जलविद्युत् आयोजनाका भूमिगत संरचनाभित्र फसेका व्यक्तिसम्म पुग्न भारत, चीन र दक्षिण कोरियाका विज्ञसहित विदेशी प्राविधिक टोलीसँगको समन्वयमा खोज तथा उद्धार जारी राखेको छ ।











