

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले रसुवा बाढीमा ज्यान गुमाएकाहरुको सम्मानमा शोक तथा समवेदना प्रकट गरेको छ ।
विश्वविद्यालयद्वारा आज यहाँ आयोजित शोक सभा मार्फत रुसुवागढी, भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक तथा समवेदना प्रकट गरिएको हो ।

शोकसभाका क्रममा एक मिनेट मौन धारण गरी नेपालको राष्ट्रिय झण्डा तथा मध्यपश्चिम विश्वविद्यालयको झण्डा आधा झुकाई मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । शोकसभालाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति डाक्टर राजन सुवालले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका मृत्तकप्रति श्रद्धाञ्जली अर्पण गरी शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे ।
उनले बाढीबाट प्रभावित, घाइते तथा विस्थापितहरुको शीघ्र उद्दार, उपचार र सुरक्षित पुनस्र्थापनाको कामना गर्दै यस कठिन घडीमा प्रभावित समुदायसँग विश्वविद्यालय परिवार ऐक्यबद्ध रहेको बताए । उनका अनुसार विपद्का समयमा विश्वविद्यालयमा कार्यरत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरुको संयुक्त योगदानमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा करिब ५४ लाख रुपैयाँ जम्मा गरिएको छ ।
उनले बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्दार कार्य शीघ्र सफल होस् भन्ने कामना समेत गरे । कार्यक्रममा विश्वविद्यालयका रजिस्ट्रार डाक्टर सुदीप ठकुरी, विभिन्न ग्र्याजुएट स्कुलका डीन, परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख, कार्यकारी निर्देशकलगायत पदाधिकारी, प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।











