

टेकनारायण पौडेल (दयालु)/ बेङ्लोर भारत । बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिले देशका विभिन्न भूभागका नागरिकलाई प्रभावित बनाईरहेका बेला भारत स्थित प्रवासी नेपाली समुदायले पीडितका लागि कसरी सहयोग जुटाउने भन्ने विषयमा फरक–फरक धारणा देखिएका छन् ।
कतिपय संगठनले दुःखको समयमा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आफ्ना मातहतका कमिटीलाई निर्देशन दिएका छन भने प्रवासी नेपाली संघ भारत, कर्नाटक–केरला संयुक्त राज्य समिति अन्तर्गतको पूर्वी नगर समितिले भने फरक अभ्यास प्रस्तुत गरेको छ ।
पूर्वी नगर समितिले ‘दुःखको समयमा कार्यक्रम नगर्ने होइन, कार्यक्रमलाई नै पीडितको सहयोगमा प्रयोग गर्नुपर्छ’ भन्ने बुझाईसहित हरितालिका तीज विशेष तथा शोकसभा कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रमबाट रसुवाको भोटेकोशी बाढीपीडितका लागि भारु २६ हजार १५ रुपैयाँ आर्थिक सहयोग संकलन भएको आयोजकले बताएका छन् ।


कार्यक्रममा नगर उपाध्यक्ष तथा महिला विभाग प्रमुख तिर्सना धमालाको अध्यक्षतामा भएको थियो । स्मृति खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् भने ज्योति बरालले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि प्रवासी नेपाली संघ भारतका केन्द्रीय सदस्य जगदिश आचार्य तथा विशिष्ट अतिथि केन्द्रिय समिति सदस्य राजेन्द्र खनाल समेतको सहभागिता रहेको थियो ।
कार्यक्रममा संघका केन्द्रीय समिति प्रतिनिधि परिषद् सदस्य रामप्रसाद जोशी, कृष्णबहादुर खड्का, राज्य अध्यक्ष भरत बाब्ली, उपाध्यक्ष अमृता खनाल, सचिवालय सदस्य तथा नगर इन्चार्ज हेमा कँडेल, राज्य सदस्यहरू बिना बजगाईं, झंकर साउद, प्रकाश परिवार र दीपेन्द्र क्षेत्री लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी पूर्व राज्य सदस्यहरू दानबहादुर रावत, कमल शाही र श्याम थापा, नगर अध्यक्ष गणेश रसाइली, सचिव उपेन्द्र थापा, उपसचिवहरू नवराज देउवा र पदम खड्का, आर्थिक विभाग प्रमुख अर्जुन भट्ट, नगर सदस्य रमेश शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि चन्द्र भण्डारी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।












