

काठमाडौं । सरकारले विश्वविद्यालयमा अनुसन्धान, प्रविधि विकास तथा स्टार्टअपलाई व्यावसायिकीकरणसँग जोड्न नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले पहिलो चरणमा ५ विश्वविद्यालयलाई नवप्रवर्तन केन्द्र स्थापना तथा सञ्चालनका लागि प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।
मन्त्रालयले राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयलाई केन्द्र स्थापनाका लागि प्रस्ताव पेश गर्न पत्राचार गरेको छ ।
विश्वविद्यालयमा उपलब्ध अनुसन्धान क्षमता, प्राविधिक जनशक्ति, प्रयोगशाला तथा पूर्वाधारको अधिकतम उपयोग गर्दै अनुसन्धानलाई प्रविधि विकास, नवप्रवर्तन र उद्यमशीलतासँग जोड्ने सरकारको योजना छ ।

मन्त्रालयका अनुसार प्रस्तावित केन्द्रले विश्वविद्यालयमा विकास भएका अनुसन्धान तथा प्रविधिलाई प्रयोगात्मक विकास, प्रोटोटाइप निर्माण, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण, स्टार्टअप तथा उद्यमशीलता विकास हुँदै बजारसम्म पुर्याउन सहयोग गर्नेछ ।
विद्यार्थी, अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी तथा निजी क्षेत्रबीच सहकार्य र ज्ञान हस्तान्तरण बढाउने उद्देश्य पनि केन्द्र स्थापनामा राखिएको छ । यसबाट विश्वविद्यालयमा हुने अनुसन्धानलाई उत्पादन तथा सेवाको विकास र व्यावसायिकीकरणसँग जोड्ने आधार तयार हुने मन्त्रालयको अपेक्षा छ ।
मन्त्रालयले सम्बन्धित विश्वविद्यालयलाई आफ्नो विद्यमान अवस्था, क्षमता र भविष्यको कार्ययोजनासहितको प्रस्ताव २०८३ असोज १० गतेभित्र पेश गर्न भनेको छ । नेपाल सरकारको मन्त्रीस्तरीय २०८३ भदौ ३१ गतेको निर्णयअनुसार प्रस्ताव माग गरिएको मन्त्रालयले जनाएको छ ।











