२०८३ कात्तिक २ , आइतबार
Sky News Nepal
October 19, 2026

दसैंमा रातो माटो र कमेरोले घर पोत्ने संस्कृति लोप हुँदै



काठमाडौं । हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रङ्गिएको कमै देखिन्छ । कुनै समय दसैँ नजिकिएसँगै रातो माटो र कमेरोले घर पोत्दा गाउँबस्ती नै रङ्गीन र चहलपहलपूर्ण देखिन्थे । तर, सिमेन्टले प्लास्टर गरिएका र आधुनिक रङ लगाइएका घर बढेसँगै दसैँको आगमनसँग जोडिएको यो परम्परा हराउँदै गएको छ।

विगतमा दसैँअघि गाउँघरमा रातो माटो र कमेरो खोजेर ल्याउने, घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने तथा बाटाघाटा सफा गर्ने चटारो हुन्थ्यो। गाउँलेहरु मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउने चलन थियो । तर, आधुनिक घर निर्माण, सिमेन्टको प्रयोग, बजारमा पाइने रङको बढ्दो चलन र बसाइँसराइका कारण यो परम्परा कमजोर बन्दै गएको स्थानीय बताउँछन् ।

बेंसीसहर नगरपालिका–११, लमजुङका ७२ वर्षीय हरिकृष्ण तिवारीलाई दसैंअघि गाउँमा हुने पुरानो चहलपहल अझै सम्झना छ । उनका अनुसार पहिले गाउँलेहरु आधा घण्टादेखि एक घण्टासम्म पैदल हिँडेर जङ्गलनजिकका ठाउँमा पुग्थे र घर पोत्न रातो माटो खनेर ल्याउँथे । त्यसपछि घरका भित्ता रातो माटो र कमेरोले पोत्ने, ढोका–झ्यालमा कालो रङ लगाउने तथा बाटोघाटो सफा गर्ने गरिन्थ्यो ।

घर पोत्ने काम घरधनीको मात्र जिम्मेवारी हुँदैनथ्यो । गाउँलेहरु मिलेर माटो ल्याउने र एकअर्काको घर पोत्न सघाउँथे । घरमा वृद्धवृद्धा मात्रै रहेका वा आफैंले घर पोत्न नसक्ने परिवारलाई छिमेकीले माटो ल्याइदिने र आवश्यक सामग्री जुटाउन सहयोग गर्ने चलन थियो ।

रोजगारी तथा अन्य अवसरको खोजीमा परिवारका सदस्य गाउँबाहिर जाने क्रम बढेको, कतिपय घर खाली रहेको र कतिपयमा वृद्धवृद्धा मात्रै बस्ने गरेकाले पहिलेको जस्तो चहलपहल घटेको देवकोटाले बताए । उनका अनुसार आपसी सहयोग र सहकार्यको परम्परा पनि कमजोर हुँदै गएको छ।

देश संघीय संरचनामा गएसँगै गाउँघरमा सडकको सहज पहुँचले पुरा परम्परामा परिवर्तन देखिन थालेको छ । पहिले गाउँमा धेरै जसो घरहरु परम्परागत शैलीका हुन्थे । त्यसमा रातो माटो तथा कमेरो पोत्ने गरिन्थ्यो । तर, समेट, छड्को सहज पहुँचसँगै नयाँ घर निर्माण गर्दा पुरानो बनावट कायम नरहेकाले अहिले पहिलेझैं घर पोत्ने अवस्था नरहेको उनले बताए ।

‘पुराना घरको सङ्ख्या घट्दै जानु र नयाँ घरमा सिमेन्ट तथा बालुवाको प्रयोग बढ्नुले यो परम्परा हराउँदै गएको छ,’ उनले भने, ‘पहिले गाउँका धेरैजसो घरमा रातो माटो र कमेरो पोतिने गरे पनि अहिले पुराना घरमा समेत सिमेन्टको प्लास्टर गर्ने चलन बढेको छ ।’ उनले केही घरमा भने अझै रातो माटो र कमेरोले पोत्ने परम्परा कायम छ । लमजुङकै दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङले केही स्थानीयले परम्परागत शैलीमा घर पोतेर गाउँबस्ती सफा र आकर्षक राख्ने अभ्यासलाई निरन्तरता दिँदै आएको जनाए ।

लमजुङकै दोर्दी गाउँपालिका–४, नौथरसेराका लक्ष्मण गुरुङले का अनुसार गाउँसहरका केही घरमा अझै रातो माटो र कमेरोले पोत्ने गरिन्छ । आधुनिक घर निर्माण बढ्दै जानु र पुराना घर भत्काएर नयाँ संरचना बनाउने क्रमले यो परम्परा पनि क्रमशः हराउने जोखिम बढेको उनले बताए ।

‘यो समस्या लमजुङको मात्रै होइन । अहिले ग्रामीण क्षत्रेका परमपरागत घरहरु भत्काएर सिमेन्टेड घर बनाउने प्रचलन बढिरहेको छ,’ उनले भने, ‘सिमेन्टेड घरमा आधुनिक केमिकल वाला कलर र पेन्ट्सहरु लगाउनु अनिवार्य जस्तै बनेको छ ।’

कलर लगाउने कामका लागि ज्याला तिरेर प्राविधिक रुपमा दक्ष कामदार मगाउनुपर्छ । तर कमेरो माटोले पोत्ने काममा भने घर र समाजकै मानिसको आपसी सहकार्य हुन्थ्यो ।

‘रातो माटो र कमेरोले घर पोत्ने चलन घर सजाउने तरिका मात्रै थिएन । यसमा स्थानीय स्रोतसाधनको प्रयोग, परम्परागत सीप र छरछिमेकबीचको सहकार्य जोडिएको थियो । दसैंअघि गाउँलेहरु मिलेर गर्ने कामले सामूहिकता र आपसी सहयोगलाई बलियो बनाउँथ्यो,’ उनले भने ।

बदलिँदो ग्रामीण जीवनशैलीसँगै यो अभ्यास कमजोर हुँदा गाउँका भित्ताबाट रातो माटो र कमेरोको रङ मात्रै हराएको छैन, चाडपर्वमा मिलेर काम गर्ने पुरानो परम्परा पनि लोप हुँदै गएको छ। अहिले चाडवाड पनि फेसन बनेका छन् । आपसी सहकार्य सर सापट अ‍ैचो पैचो केही कुरा पनि पहिलेको जस्तो चलनमा छैनन् । रासस

प्रकाशित मिति : २०८३ कात्तिक २ गते आइतबार
Translate »