

सुर्खेत । कैलालीको लम्कीदेखि अछाम जाँदै गरेको फोर्स गाडी सुर्खेतको पञ्चपुरी नगरपालिका–३, लगामको डाँडामा दुर्घटना हुँदा नौ जना घाईते भएका छन् ।
आज विहान साढे १० बजे तिर कर्णाली प्रदेश ०२–००१ ज. ०८४४ नम्वरको फोर्स गाडी आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा ३ महिलासहित ६ जना पुरुष घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घाईतेहरुको पञ्चपुरी आधारभुत अस्पताल सालकोट पलाईटे र प्रदेश अस्पताल कालागाउँ वीरेन्द्रनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए । उनले फोर्स गाडीमा सवार कुल १९ जना मध्य अन्य १० जना यात्रुहरु सकुसल रहेकाले सम्बन्धित समितिसँग समन्वय गरी गन्तव्य तर्फ पठाईएको बताए ।


उनका अनुसार दुर्घटना लगतै फरार गाडीका चालकको खोजतलास कार्य तीव्र पारिएको छ । दुर्घटना स्थल ईलाका प्रहरी कार्यालय बाबियाचौरदेखि अन्दाजी ५ किलोमिटर पूर्वमा पर्छ ।
दुर्घटनामा परी घाइते हुनेमा अछामको तुर्माखाँद गाउँपालिका–६, की २७ वर्षियाँ जीवनकला बयक, अछामकै विनायक नगरपालिका–१, का २५ वर्षिय हेमन्त तिमल्सिना र वडा नं. ८, का ३५ वर्षिय धिराज वि.क., कैलालीका सुनिल बादीको ३ वर्षिय छोरा समिर बादी, दैलेखको ठाँटिकाँध गाउँपालिका–३, का ४१ वर्षिय विर्ख टमट्टा, सोही ठाउँकी २० वर्षिया शारदा टमट्टा, अछामको कमलबजार नगरपालिका–७, का, १५ वर्षिय निरज भण्डारी र कैलालीको लम्किचुहा नगरपालिका–४, का २० वर्षिय गोपाल बोगटी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।












