

बाँके । वर्षातपछि बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी सुरु भएको छ ।
संरक्षित वन्यजन्तु चौसिंगाको अवलोकनका लागि महत्वपूर्ण गन्तव्यका रुपमा परिचित निकुञ्जमा सफारीसँगै पर्यटकलाई वन्यजन्तु, जैविक विविधता र प्राकृतिक सौन्दर्य नजिकबाट अनुभव गर्ने अवसरको बाटो खुलेको हो । बाँके राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेको गाभर भ्याली पनि पर्यापर्यटनको आकर्षक गन्तव्यका रुपमा परिचित छ ।
हरियाली जंगल, चुरे पहाडको फेदी, स्थानीय थारु तथा मुगाली संस्कृति र सामुदायिक होमस्टेका कारण यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । जंगल सफारीसँगै पैदल यात्रा, चराचुरुङ्गी अवलोकन र स्थानीय संस्कृति अनुभव गर्न सकिने गाभर भ्यालीले पर्यटनमार्फत स्थानीय समुदायको आयआर्जन बढाउनसमेत योगदान पु¥याउँदै आएको छ ।
निकुञ्जभित्रको वनपथ वरिपरिका झाडी सफा गरेर बाघ देखिने ठाउँ पहिचान गरी सफारी खुला गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिए । निकुञ्जभित्र निजी सवारीलाई भने प्रवेश नदिइने उनले बताए । उक्त सवारीमा बढीमा १० जनाले जंगल सफारी गर्न मिल्छ भने सवारीधनीले एक पटकका लागि २ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ ।
निकुञ्जका प्रमुख कँडेलले निकुञ्जमा घुम्न आउने पर्यटकका लागि निकुञ्ज मुख्यालय ओभरी र कोहलपुरस्थित सेक्टर कार्यालयबाट सफारी गर्नका लागि टिकटको व्यवस्था समेत मिलाइएको बताए । सफारीमार्फत निकुञ्ज क्षेत्रमा पर्यटकले दुर्लभ पाटेबाघसहित त्यसका आहारा प्रजातिका चित्तल, चौका, बँदेल लगायतका वन्यजन्तु अवलोकन गर्न सक्नेछन् ।

वन्यजन्तु अवलोकनका लागि विभिन्न स्थानमा मचान, घाँसेमैदान, कृत्रिम पोखरी, वनपथ जस्ता पूर्वाधारसमेत निर्माण गरिएको उनको भनाइ छ । उनले बाघको बासस्थान पत्ता लगाउन क्यामरामार्फत सर्वेक्षण भइरहेको जानकारी दिए । उक्त सर्वेक्षणले बाघको संख्या, बसोबास क्षेत्र र आहारा प्रजातिको अवस्थाको विस्तृत जानकारी प्राप्त हुनेछ ।
‘मानव वन्यजन्तुबीचको द्वन्द्व घटाउने विषय प्राथमिकतामा राखेर सफारी शुरु गरिएको छ,’ उनले भने, ‘यसको मुख्य उद्देश्य पर्यापर्यटनको विकास र निकुञ्जमा देखिएका समस्या र चुनौतीका विषयमा छलफल गर्दै जनतालाई पर्यापर्यटनसँग जोड्ने हो ।’ उनले जंगल सफारीका क्रममा बाघ, चौका चित्तल, रतुवा, जरायो ,बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गर्न सकिने जनाए ।
निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारी कार्यक्रमले सघाउ पुग्ने उनको भनाइ छ । जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन् ।
बाँके निकुञ्जमा स्तनधारी जनावार र चराका विभिन्न प्रजाति पाइन्छन् । मुख्य गरेर बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति एक विशेषताका रुपमा देखिएको निकुञ्जको भनाइ छ । पछिल्लो समय आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटक पनि निकुञ्जमा आउन थालेका छन् ।
विसं २०६७ मा बाँके, दाङ र सल्यानको ५५० वर्गकिलोमिटर क्षेत्र समेटेर नेपालको सबैभन्दा कान्छो निकुञ्जका रुपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएको थियो ।











