

गुटु । कहिले समयमा पानी नपर्ने, कहिले लामो समयसम्म खडेरी पर्ने त कहिले बाली भित्र्याउने बेलामै अनपेक्षित वर्षा हुने समस्याले किसानको वर्षभरिको मेहनत जोखिममा पर्न थालेको छ ।
मौसमको यही फेरबदलले यतिबेला धान भित्र्याउने चटारोमा रहेका सुर्खेतका किसानलाई थप चिन्तित बनाएको छ । धान पाकेर खेत पहेंलपुर भएका छन् । कतै किसान पाकेको धान काट्न व्यस्त छन् भने कतै काटिसकेको धान खेतमै छरिएको छ ।
तर, आकाशमा बादल देखिनासाथ किसानको मनमा एउटै प्रश्न उब्जिन्छ, कतै पानी परेर वर्षभरिको मेहनत खेर जाने त होइन ? दसैंको रमझम सकिएसँगै गुटुका किसान लालमति बयकलाई खेतमा पाकेको धान भित्र्याउने हतारो छ । खेतमा पाकेको धान र काटिसकेको बाली दुवै रहेकाले मौसम बिग्रिए ठूलो क्षति हुने चिन्ताले उनलाई पिरोलेको छ ।

दसै मनाउन व्यस्त किसान अहिले खेतमा धान काट्ने, खल्यानसम्म ओसार्ने, झाँट्ने र घरमा भित्र्याउने काममा जुटेका छन् । पश्चिम सुर्खेतका विभिन्न स्थानमा धान पाकेर काट्ने बेला भएपछि किसानलाई धान स्याहार्न भ्याइनभ्याइ भएको हो । वर्षभरि परिवारलाई खान पुग्ने अन्नको जोहो गर्नुपर्ने र बाँकी धान बिक्री गरेर घरखर्च चलाउनुपर्ने भएकाले किसानका लागि यो समय निकै महत्वपूर्ण मानिन्छ ।
चौकुने गाउँपालिका–७, डाँबका किसान गोपाल थापाले दसैं सकिएसँगै धानका विटा उठाउने काममा व्यस्त छन् । खेतमा पाकेको धान समयमै काटेर घरमा भित्र्याउनुपर्ने भएकाले अहिले उनको अधिकांश समय खेतमै बित्ने गरेको छ । धान खेती सुर्खेतका ग्रामीण भेगका धेरै किसानको प्रमुख खाद्यान्न उत्पादनको आधार हो ।
वर्षभरि खान पुग्ने धान सुरक्षित राखेर बाँकी बिक्री गर्ने किसानका लागि धान भित्र्याउने समयले वर्षभरिको खाद्यान्न व्यवस्थापन र घरखर्चमा प्रत्यक्ष प्रभाव पार्छ । यस्तै, चौकुने गाउँपालिका–७, रानका किसान रमेशकुमार देवकोटालाई पनि दसैं सकिएसँगै धान भित्र्याउने चटारो परेको छ ।

दसैंको तयारी र चाडपर्व मनाउने व्यस्तताबीच पाकेको धान खेतमै रहेकाले चाडपर्व सकिएलगत्तै उनी धान स्याहार्ने काममा लागेका हुन् । धान काट्ने, ओसार्ने र थ्रेसर लगाएर दाना छुट्याउने काममा परिवारका सदस्यसमेत जुट्ने गरेका छन् । मौसममा आउने परिवर्तनले पाकेको धानमा क्षति पुग्न सक्ने भएकाले किसान सकेसम्म छिटो धान भित्र्याउने तयारीमा छन् ।

सुर्खेतका किसानका लागि दसैको रमझम सकिएसँगै खेतबारीमा कामको चटारो सुरु भएको छ । वर्षभरि गरेको मेहनतको प्रतिफलका रुपमा रहेको धान सुरक्षित रुपमा घरमा भित्र्याउन पाए परिवारको खाद्यान्न आवश्यकता पूरा गर्नुका साथै आर्थिक व्यवस्थापनमा समेत सहयोग पुग्ने किसानको अपेक्षा छ ।

बदलिँदो जलवायु, बढ्दो कृषि जोखिम
पछिल्ला केही वर्षयता मनसुनको ढाँचामा आएको फेरबदलले नेपालको कृषि प्रणालीलाई थप संवेदनशील बनाएको छ । समयमा वर्षा नहुनु, छोटो अवधिमा अत्यधिक वर्षा हुनु, बाढी, पहिरो, असिना र लामो खडेरीजस्ता घटनाले किसानको उत्पादन र आम्दानीमा प्रत्यक्ष असर पारिरहेका छन् ।
एकातिर बाढी र पहिरोले खेतबारीमा क्षति पुर्याउँछन् भने अर्कोतिर खडेरीले बालीको वृद्धि र उत्पादनमा बाधा पुर्याउँछ । बाली लगाउने र भित्र्याउने समयमै प्रतिकूल मौसम देखा पर्दा किसानको लगानी, श्रम र अपेक्षित प्रतिफल सबै जोखिममा पर्छन् ।
विभिन्न प्रतिवेदनमा बाढी र पहिरोका कारण विभिन्न असिनापानी र भारी वर्षाले बालीको वृद्धि, फूल लाग्ने तथा दाना बन्ने प्रक्रियामा असर पुर्याउँदा कृषि उत्पादकत्व घट्ने जोखिम बढेको छ ।
कृषि प्रणाली अझै पनि ठूलो हदसम्म मनसुनमा निर्भर छ । पर्याप्त सिँचाइ सुविधा नपुगेका क्षेत्रमा किसानले वर्षाको भरमा खेती गर्नुपर्ने बाध्यता छ । वर्षा अनियमित हुँदा यस्ता क्षेत्रमा धानलगायतका बाली प्रभावित हुने जोखिम बढी हुन्छ ।
सिँचाइको अभाव र जलवायु परिवर्तनको संयुक्त असरले किसानलाई दोहोरो मारमा पारेको छ । पानी नपर्दा बाली सुक्ने र अत्यधिक पानी पर्दा बाली डुबानमा पर्ने अवस्था छ ।











