सुर्खेतमा सडक अतिक्रमण हटाउ अभियान तीव्र
स्काई न्यूज/कार्तिक १९, सुर्खेत ।
सडक डिभिजन कार्यालय सुर्खेतले सडक क्षेत्रमा अतिक्रमण गरेर सञ्चालन गरिएका फुटपाथ व्यवसाय व्यवस्थापन अभियान शुरु गरेको छ । सडकमै व्यापार सञ्चालन हुँदै आएको फुटपाथका कारण सडक आवागमनमा नै असहज स्थिति पैदा भएको भन्दै अतिक्रमण भएको क्षेत्र खाली गर्दै त्यहाँका पसल हटाउन शुरु गरिएको डिभिजन कार्यालयले जनाएको छ । रत्नराजमार्गको मंगलगढीचोकमा सडक अतिक्रमण हटाउन आनाकानी गरेपछि डोजर प्रयोग गरी हटाउन शुरु गरिएको हो । सोमबार तथा मंगलबार मंगलगढी बसपार्क आसपासको क्षेत्रका सडकको क्षेत्रभित्र पर्ने सम्पूर्ण संरचनाहरु हटाइएको छ । नगरपालिका र सडक डिभिजन कार्यालयले बजार क्षेत्रको सौन्दर्यलाई बिगार्ने तवरले अनाधिकृत रुपमा भएको सडक अतिक्रमण हटाउन पहिले नै सूचना तथा पत्राचार गरेको थियो ।
तर, राजमार्ग छेउछाउका सडक अतिक्रमण गरी खडा गरिएका खोका, छाप्रा, पार्किङ्ग, निर्माण सामग्री थुपार्ने जस्ता क्रियाकलाप नरोकिएपछि नगरपालिका, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्याल र ट्राफिक प्रहरीको संयुक्त पहलमा डोजर लगाएर अतिक्रमण हटाउन शुरु गरिएको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले बताए । उनले सडक अतिक्रमणबाट सवारी अस्तव्यस्त र दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण हटाएर खाली नगरी नहुने अवस्था देखिएको जनाए । उनका अनुसार बाङ्गेसीमलदेखि रत्नराजमार्गको बबईसम्म सडक अतिक्रमण हटाउने अभियान जारी रहने छ । सडकको केन्द्रविन्दुबाट २५÷२५ मिटर दायाँ–बायाँ सडक क्षेत्रमा पर्ने हुँदा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम सडक क्षेत्रभित्र कुनै संरचना तथा सडक अवरुद्ध पार्ने गरी अनाधिकृत रुपमा सडक कब्जा गर्न नहुने व्यवस्था छ ।
वीरेन्द्रनगर क्षेत्रमा सडक अतिक्रमण गरी फुटपाथ व्यवसाय सञ्चालन गरेका फुटपाथ व्यवसायलाई हटाउन थालिएको नगरपालिकाका वातावरण तथा विपद् अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले जानकारी दिए । सडक किनारामा राखिएका ठेला व्यापारले सवारी आगमनमा समस्या हुनका साथै बजार क्षेत्रमा सवारी दुर्घटना हुनसक्ने भन्दै फुटपाथ पसल र सडक किनारका ठेला व्यापारीलाई हटाउने अभियान शुरु गरिएको हो । मंगलगढीचोकको उत्तर तथा दक्षिणतर्फ र रत्नराजमार्गका फुटपाथ व्यवसायीले ट्राफिक अस्तव्यस्त बनेका कारण फुटपाथ व्यवसायीलाई हटाउन लागिएको छ । मंगलगढी चोकमा रहेका एक सय भन्दा बढी टहरा हटाएर सवारी आवतजावतमा व्यवस्थित पारिएको छ । फुटपाथ व्यवसायीका कारण वीरेन्द्रनगरको मंगलगढी चोक र एरीचोकको आवतजावतमा निकै समस्या हुने गरेको मोटरसाइकल चालक कृष्ण मल्लले गुनासो पोखे । नगरपालिकाले फुटपाथ व्यवसायीका लागि छुट्टै स्थान उपलब्ध गराउनुपर्ने फुटपाथ व्यवसायी बताउँछन् । फुटपाथ व्यवसायी लक्ष्मी शर्माले आफूहरुलाई एक ठाउँमा व्यापार व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताईन् । नगरपालिकाले सार्वजनिक स्थानमा अव्यवस्थित तरिकाले फुटपाथ व्यवसाय सञ्चालन गर्नेलाई सार्वजनिक मुद्दासम्म लगाउने तयारी गरेको छ । यहाँ यसअघि पनि फुटपाथ व्यवसाय हटाइएको भएपनि समस्या समाधान हुन सकेको छैन ।
स्थानीय सरकार निर्माण भएको यतिका समयपछि सडक अतिक्रमण हटाउन थालिएको भएपनि यो कदमलाई स्थानीयहरुले स्वागत योग्य भनेका छन । अतिक्रमित सडकलाई खुल्लागर्न शुरु गरिएपछि अहिले सडक आसपासका धेरै पसलहरु सडक क्षेत्रमा परेपछि व्यावसायीहरुलाई भने समस्या हुने देखिएको छ । यो कार्यले बर्षाैदेखि व्यावसाय गर्दै आएकाहरु लाई भने अब काहाँ गएर व्यावसाय गर्ने भन्ने चिन्तापनि उत्तिकै थपिएको छ । तर अतिक्रमित सडक खुल्ला गरेर सुन्दर नगर निर्माणगर्ने कुरामा आफुहरु पसल हटाउन पनि तयार रहेको केही व्यवसायीहरुले बताएका छन । नगरपालिकाले नगर क्षेत्रको सडक अतिक्रमति गरि बनेका भौतिक संरचना, टहरा, फुटपाथ हटाउन अनुरोध गर्दै आएको छ । नगरपालिकाले अहिले शुरु गरेको सडक अतिक्रमण हटाउने कार्यको सुर्खेत उद्योग बाणिज्य संघले समेत सकरात्मक कार्यको थालनी भनेको छ ।