२०८३ मंसिर १३ , शनिबार
Sky News Nepal
November 29, 2026

जिम्न्यास्टिकका प्रथम तथा द्वितीय चरणका सबै खेलहरु पुरा, भोली फाईनल हुँदै



सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फका प्रथम तथा द्वितीय चरणका सबै खेलहरु शनिबार पूरा भएका छन् ।

वीरेन्द्रनगरस्थित मिनी कभर्ड हलमा भइरहेको प्रतियोगिताको तेस्रो चरण अर्थात् ‘ कॉपिटिशन–३ एपरेटस फाइनल’ भोलि (आइतबार) बिहान ९ बजेदेखि सुरु हुँदैछ । मुख्य प्रशिक्षक सुदेशसागर जोशीका अनुसार छनोट चरण पार गरेका खेलाडीहरुले भोलि व्यक्तिगत तथा समूहगत विधामा अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका प्रथम तथा द्वितीय चरणका सबै प्रतिस्पर्धाहरु शनिबार पुरा भएसँगै आइतबार फाइनल खेलहरु हुने भएका हुन् । प्रतियोगितामा महिला तथा पुरुष खेलाडीहरुले फ्लोर एक्सरसाइज, भल्ट र बार्सलगायतका विधाका प्रथम तथा द्वितीय चरणका प्रतिस्पर्धा सम्पन्न गरेसँगै तृतीय चरणको अर्थात (कॉपिटिशन–३ एपरेटस) फाइनल प्रतियोगितामा आफ्नो अन्तिम प्रतिभा देखाउने छन् ।

प्रतियोगितामा ४२ महिला र ४९ जना पुरुष खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, गण्डकी, कोशी प्रदेशका साथै विभागीय टोली नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेनाले सहभागी छन् । कुनै भवितव्य नभए जिम्न्यास्टिक प्रतियोगिता आइतबार नै सम्पन्न हुने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २०८३ मंसिर १३ गते शनिबार
Translate »