भारतीय हस्तक्षेप विरुद्ध सुर्खेतमा विद्यार्थी आन्दोलित

स्काई न्यूज/ कार्तिक २०, सुर्खेत ।
नेपाली भूभाग भारतले आफ्नो राजनीतिक नक्सामा पारेको भन्दै सुर्खेतका विद्यार्थी आन्दोलित भएका छन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको नेतृत्वमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा भएको भारतीय हस्तक्षेप विरुद्धको आन्दोलनमा विद्यार्थीले भारतले आफ्नो राजनीतिक नक्साबाट तत्काल नेपाल भूभाग हटाएर माफि माग्नु पर्ने माग राखेका हुन् । विद्यार्थीले भारतीय विस्तारवादले नेपालमा विभिन्न समयमा, विभिन्न माध्यमबाट हस्तक्षेप गर्दे आईरहेकोले देशभक्त नेपालीले भारत विरुद्ध एकजुट हुन आव्हान गरेका छन् । अनेरास्ववियू सुर्खेत अध्यक्ष धुपेन्द्र शाहीले कालापानी, लिपु लेख नेपालको हुँदाहुँदै नेपाली भूभागलाई आफ्नो नक्सामा राखेर भारतीय विस्तारवादले सुन्दर तथा शान्त नेपालमाथि धावा बोलेको बताए । उनले भारतद्वारा अतिक्रमित नेपाली भूभागलाई स्वतन्त्र बनाउन देशभक्त, ईमानदार नेपाली एकजुट हुन आव्हान गरे । भारतले तत्काल नेपाली भूभागलाई आफ्नो नक्साबाट नसच्चाएर उस विरुद्ध कडा आन्दोलन गरिने उनको भनाइ थियो । कोणसभामा भारतीय विस्तारवाद मुर्दावादको नारा लगाउँदै अनेरास्ववियूका अर्का नेता प्रेम खड्काले नेपाली भूमिमाथि भारतीय हस्तक्षेप बन्द नगरे लिपुलेख तथा कालापानीमै मार्चपास गरिने जनाए ।

 

Translate »