२०८३ साउन २६ , मंगलबार
Sky News Nepal
August 11, 2026

सुर्खेती पत्रकार शर्माको निधन



स्काई न्यूज /कार्तिक २८, सुर्खेत ।
करीब ५ वर्षदेखि सुर्खेतमा सक्रिय पत्रकारिता गरिरहेका पत्रकार डिलप्रकाश शर्माको निधन भएको छ । विहीबार काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा बोन म्यारोको शल्यक्रिया तयारी भइरहँदा उनको २३ वर्षको उमेरमै निधन भएको हो । स्वास्थ्यमा गम्भीर समस्या आएपछि सात महिनाअघिदेखि अस्पताल भर्ना भएका पत्रकार शर्माको बोनम्यारो प्रत्यारोपणका गर्ने तयारी भइरहँदा मृत्यु भएको अस्पतालले जनाएको छ । दैलेखका स्थायी निवासी शर्माले स्थानीय युगआव्हान दैनिक पत्रिकाबाट आफ्नो पत्रकारित शुरु गर्दे काँक्रेविहारपछि हाल साझा विसौनी दैनिक एवं देशसञ्चार अनलाईनका लागि काम गर्दे आएका थिए ।


पत्रकार शर्मा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्य पनि थिए । पत्रकार शर्माको निधनमा नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर दुस्ख व्यक्त गरेको छ । महासंघले शर्माको निधनबाट नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु तथा उर्जाशील युवा पत्रकार गुमाएको जनाएको छ । यसैवीच कर्णाली प्रदेश संसदीय मामिला पत्रकार समाजका सचिव समेत रहेका पत्रकार शर्मा दुःखद् निधन भएकोप्रति संसदीय मामिला पत्रकार समाज सुर्खेतले गहिरो दुःख प्रकट गरेको छ । विहीबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष शेरबहादुर थापाले भनेका छन, ‘संसदीय बिट पत्रकारिताको मोफसलमा अभ्यास भइरहेको बेलामा हामीलाई एक गम्भीर धक्का महसूस भएको छ । उहाँको निधनले पत्रकारिता जगतमा ठूलो क्षति पु¥याएको छ ।’ यस्तै मिडिया एडभरटाईजिङ्ग एण्ड प्रोड्क्सनद्वारा सुर्खेतबाट प्रकासित स्काई न्यूज दैनिकका शुभचिन्तक समेत रहेका शर्माको निधनबाट अति मिलनसार तथा सहयोगी मित्र गुमाउनु परेको दैनिकका कार्यकारी निर्देशक डिलबहादुर खत्री तथा सम्पादक आकाशतारा बयकले बताएका छन् । कार्यकारी निर्देशक खत्रीले प्रतिभाशाली पत्रकार शर्माको निधनबाट सुर्खेत र कर्णाली प्रदेशको पत्रकारितालाई ठूलो क्षति पुगेको बताए । स्काई न्यूज दैनिक परिवारले परिवारजनप्रति गहिरो समवेदना तथा मृतक शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेको छ । यसैवीच उनको बिहीबार बेलुका पशुपति आर्यघाटमा आमा, बहिनी, काकासहितका आफन्त, नेपाल पत्रकार महासंघका प्रतिनिधि, विभिन्न संस्थामा आवद्ध पत्रकार तथा शुभचिन्तकको उपस्थितिमा अन्त्येष्टि भएको हो ।

प्रकाशित मिति : २०७६ कात्तिक २८ गते बिहीबार
Translate »