२४० पदकका लागि ३२० जना भिड्दै

स्काई न्यूज/ पुस ९, सुर्खेत ।
कर्णाली प्रदेशकै चर्चित विद्यालय जन नमूना माध्यमिक विद्यालय वीरेन्द्रनगर सुर्खेतको अन्तर सदनात्मक खेलकुद प्रतियोगिता शुरु भएको छ । विद्यालयमा बुधबारदेखि शुरु भएको अन्तर सदनात्मक खेलकुद प्रतियोगितामा २४० पदकका लागि ३२० जना प्रतियोगि एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । अन्तर सदनात्मक खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै वीरेन्द्रनगर–६, का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले खेललाई खेल भावनाबाट विकास गर्न सके शारीरिक तथा मानसिक स्वच्छताको विकास हुने बताए । उनले खेलकुदबाट शारीरिक तथा मानसिक विकासका लागि खेलकुदको ठूलो महत्व रहेको जनाए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर कोइरालाले जन नमूना माविलाई गुणस्तरीय पढाईसँगै खेलकुदका माध्यमबाट समेत चिनाउन व्यवस्थापन पक्ष लागि परेको जानकारी दिए । विद्यालयले आयोजना गर्ने खेलकुदका यस्ता गतिविधिले दक्ष खेलाडी उत्पादनमा टेवा पुग्ने उनको भनाइ थियो । विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाईका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएको जनाए ।

उनले विद्यार्थी शारीरिक रुपमा स्वस्थ नभएसम्म राम्रोसँग पठनपाठन गर्न नसक्ने भएकाले यस वर्षदेखि महोत्सवकै रुपमा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको उल्लेख गरे । अन्तर सदनात्मक खेलकुद प्रतियोगितामा कवड्डी, हिसाव दौड, चम्चा दौड, बोरा दौड, म्युजिकल चियर, फुटबल, भलिबल, क्रिकेट, र एथलेटिक्सका प्रतियोगिता हुने खेलकुद संयोजक चन्द्रप्रकाश शाहीले जानकारी दिए । बुधबार उद्घाटन सत्रमा खेलाडीद्वारा शानदार मार्चपास्र्टमा नमूना देख्ने लायक रहेको थियो । उनका अनुसार विद्यालयका विद्यार्थी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगितामा विजयी तथा उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने छ ।