भारतीय तस्कारले सशस्त्र प्रहरीको बन्दुक खोसेपछि झडप

एक जनाको मृत्यु

स्काई न्यूज /जेठ ३०, सर्लाही ।
नेपाल- भारत सीमा सर्लाहीमा भारतीय तस्कर र सशस्त्र सीमा प्रहरी वीच झडप भएको छ । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा झडप भएको हो । सशस्त्र प्रहरी र भारतीय तस्करवीच झडप भएको सशस्त्र प्रहरी सीमा सुरक्षाले जनाएको छ । झडपकाक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना तस्करको मृत्यु भएको छ । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले मृत्यु हुनेको परिचय खुलिनसकेको बताए । उनले भने, ‘घटनामा भारतीय तस्कर पक्षका दुई जना र सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।’ प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय तस्कर लगन रामलाई पनि पक्राउ गरिसकिएको उनले बताए । प्रारम्भमा भारतबाट २०/२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरूलाई फर्काएको केहीबेरमा करिब एक सय जनाको तस्कर टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।

त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १५ राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भारतबाट तस्करी गर्न आएका मानिससँग सीमा क्षेत्रमा सशस्त्र प्रहरीको झडप भएको बताए । उनले भने, ‘अहिले थप सुरक्षा अधिकारी त्यहाँ पठाइएको छ, विस्तृत विवरण आउन बाँकी छ ।’ सर्लाहीको पर्सा गाउँपालिकाका प्रमुख किशुनदेव रायले घटनामा घाइते भएका केही व्यक्ति भारततिर भागेको बताए । बीओपीमा कार्यरत अधिकारीहरुले भने सशस्त्र प्रहरीले संयमता अपनाउँदा अपनाउँदै पनि भिड आक्रोशमा आएकाले दुर्घटना भएको बताएका छन् । भारतीय तस्करले नेपालतर्फ आएर सशस्त्र प्रहरीको हतियार खोस्न खोजेपछि सशस्त्र प्रहरी र भारतीय तस्कर वीच झडप भएको प्रहरीको भनाइ छ । सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर–३ स्थित नारायणपुरस्थित सीमा हुँदै केही भारतीय तस्करहरु नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले सोधपुछको लागि रोकेपछि विवाद शुरु भएको थियो । सो क्रममा भारतीय तस्करले सशस्त्र प्रहरीको एसएलआर बन्दुक खोस्ने प्रयास गरेका थिए । सशस्त्र प्रहरीसँग निहुँ खोज्दै भारतीय तस्करले बन्दुक खोसेपछि झडपले उग्र रुप लिएको हो । सीमामा यसअघि पनि भारतीय तस्करहरुसँग झडप हुँदै आएको छ ।

Translate »