कोरोना संक्रमित खोज्दै गाउँ पस्यो प्रदेश आयुर्वेद औषधालय

सुर्खेतका अधिकांस आइसोलेशन र क्वारेन्टाइनमा आयुर्वेद औषधीको प्रयोग

स्काई न्यूज /जेठ ३१, सुर्खेत ।
प्रदेश आयुर्वेद औषधालय सुर्खेतले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । औषधालय शनिबार पहिलो पटक कोरोना संक्रमित खोज्दै पश्चिम सुर्खेतका गाउँमा रहेका आइसोलेशन र क्वारेन्टाइनमा पस्यो । भारतबाट प्रवासी मजदुर पश्चिम सुर्खेतका गाउँहरुमा फर्केसँगै कारोनो संक्रमितको संख्या बढ्न थालेपछि औषधालयले पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाका क्वारेन्टाइनमा पुगेको हो । औषधालयले ती गाउँका कोरोना संक्रमित तथा क्वारेन्टिनमा बसेका करिब ५ सय नागरिकलाई रोगप्रतिरोधात्मक क्षमता बढ्ने औषधि वितरण गरेको छ ।

कोरोना भाइरसका कारण बढ्दै गएको तनाब व्यवस्थापन तथा प्रतिरोधात्मक क्षमता बढाउन औषधालयले आयुर्वेद चिकित्सा विज्ञानलाई अग्रपंतिमा ल्याउने प्रयास गरेको छ । विश्वका कतिपय मुलुकले कोरोनासँग लड्नका लागि आयुर्वेद चिकित्सा पद्धतिलाई अंगिकार गरेको र सफल हुँदै गएको पाइएपछि प्रदेश आयुर्वेद औषधालयले यसलाई दीर्घकालीन योजनासहित अगाडि बढाउन खोजेको हो । औषधालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई कोरोना भाइरस विरुद्धको लडाईंमा परिचालन गर्ने योजना बनाएको बताएको छ ।

औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले आयुर्वेद चिकित्सामार्फत् मानिसको रोगसँग प्रतिरोधात्मक क्षमता बढाउनका लागि चिकित्सक एवं स्वास्थ्यकर्मीलाई परिचालन गरिएको  जनाए । उनले कोरोना भाइरस विरुद्ध आयुर्वेद चिकित्सा क्षेत्रलाई दीर्घकालीन रुपमा अगाडि बढाउने गरी कार्ययोजना बनाइएको बताए । उनका अनुसार आयुर्वेदिक औषधिको सेवनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाब व्यवस्थापनको काम समेत गर्ने गरेको छ । प्रदेश सरकारको समन्वयमा आयुर्वेद चिकित्सालाई अग्रपंतिमा राखेर काम गर्ने योजना औषधालयले बनाएको उनको भनाइ छ । ‘प्रदेश सरकारको समन्वय एवं सहयोगमा प्रदेश भित्र रहेका आयुर्वेद चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई क्वारेन्टाइनहरुमा परिचालन गर्छौं,’ अध्यक्ष ढकालले भने, ‘यसले क्वारेन्टाइनमा रहेका व्यक्तिलाई प्रतिरोधात्मक क्षमता बढाउनमा र तनाब व्यवस्थापमना सहयोग पुग्ने छ ।’ उनले प्रदेश सरकारको सहयोग रह्यो भने आयुर्वेदका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा मनोचिकित्सक र योग प्रशिक्षकहरु पनि परिचालन हुने बताए । औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले कोरोना भाइरस संक्रमण पुष्टि भएका लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका आहार–विहार (योग, ध्यान, नृत्य, हास्य विधि) तथा स्थानीय स्तरमा उपलब्ध जुडिबुटिबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गरिरहेको बताए ।

उनले प्रदेश सरकारको सहयोग प्राप्त भएमा जिल्लामा उपलब्ध मनोचिकित्सक र योग प्रशिक्षकको जनशक्तिलाई क्वारेन्टाइन तथा आइसोलेशनमा परिचालन गर्ने योजनासहितको काम भइरहेको जनाए । ‘आयुर्वेदको प्रोटोकल अनुसार केन्द्र तथा प्रदेश सरकारको समन्वयमा सबै योजनाहरु अगाडि बढाएका छौं,’ उनले भने, ‘मनोचिकित्सक तथा योग प्रशिक्षकहरुलाई समेत समेटेर होम क्वारेन्टाइन, क्वारेन्टाइनमा रहेका आम नागरिक, त्यसमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई उपयुक्त आहार—विहार (योग ध्यान, नृत्य, हास्य विधि) तथा घरेलु औषधिजन्य वनस्पतीको उपयोगबाट रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउनुका साथै पेशागत तनाब व्यवस्थापनमा सहजीकरण गरिनेछ ।’

उनका अनुसार प्रदेशमा बढ्दो संक्रमण देखिएपछि जिल्लाका गाउँहरुमा रहेका आइसोलेशन, क्वारेन्टाइनसँगै प्रदेश अस्पताल स्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखेर उपचार गराइएका संक्रमितलाई आयुर्वेदिक औषधिको प्रयोग गरिएको छ । औषधालयले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको हो । कोरोना संक्रमणले महामारीको रुप लिएको अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बृद्धिसँगै संक्रमण रोक्न आयुर्वेद औषधि वितरण गरिएको औषधालयका कविराज निरीक्षक अधिकृत श्रीराम आचार्यले बताए । उनले स्थानीय तहसँगै प्रदेश अस्पतालसँग समन्वय गरेर कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा आफूहरुले काम गरिरहेको जनाए ।

‘स्थानीय जंगलमा उपलब्ध गुर्जोलगायतका जडीबुटी खोजेर ल्याएर संक्रमितलाई  रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि निशुल्क व्यवस्था मिलाएका छौं,’ बैद्य निरीक्षक अधिकृत दिपेन्द्र कँडेलले भने, ‘गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्णलगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोगमा ल्याएका हौं ।’ उनले शनिबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाकासँगै चौकुने गाउँपालिकामा रहेका कोरोना संक्रमितसँगै स्वास्थ्यकर्मीलाई गुर्जोबाट बनेका औषधि एवं च्यवनप्राश वितरण गरिएको जनाए । उनले क्वारेन्टाइनमा रहेका नागरिकलाई समेत रोग प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटीसँगै मानसिक तथा शारीरिक व्यवस्थापनका लागि योग प्रणायाम, ध्यानका विधि समेत आफूले सिकाउने गरेको बताए ।

यता प्रदेश आयुर्वेद औषधालयले आइसोलेशन र क्वारेन्टाइनमा बसेका नागरिकलाई निःशुल्क रोगप्रतिरोधात्मक औषधि तथा तनाब व्यवस्थापन सम्बन्धि विधिहरुको जानकारी दिएर पूण्य काम गरेको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्रबहादुर थापासँगै चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले धन्यवाद व्यक्त गरे । उनीहरुले आइसोलेशन र क्वारेन्टाइनमा बसेकाहरुका लागि मानसिक व्यवस्थापनका लागि मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका आयुर्वेद औषधि थप सहयोग गर्न आग्रह गरे ।

Translate »