कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि बाट्दै गाउँ–गाउँमा

संक्रमण रोकथाम तथा नियन्त्रणमा जुट्यो प्रदेश आयुर्वेद औषधालय

स्काई न्यूज/ असार ९, सुर्खेत ।
कर्णालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाहरुलाई आयुर्वेदिक औषधि दिन थालिएको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने आयुर्वेदिक औषधि संक्रमितलाई दिन थालिएको हो । आयुर्वेद विभागले जारी गरेको प्रोटोकल अनुसार कर्णाली प्रदेश सरकारको निर्देशनमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतले उपचाररत रहेकै स्थानमा पुगेर संक्रमितलाई ६ प्रकारका औषधि प्रदान गर्न थालेका हो । औषधि वितरणका लागि प्रदेश आयुर्वेद औषधालयका प्रमुख डा. शंकरप्रसाद रिजाल, डा. यादवप्रसाद उपाध्याय, कविराज निरीक्षक श्रीराम आचार्य र बैद्य निरीक्षक दिपेन्द्र कँडेललाई खटाइएको छ । आयुर्वेदको स्वास्थ्य जीवन कार्यक्रममार्फत संक्रमितलाई सेवन गर्ने तरिका सिकाउँदै धमाधम औषधि वितरण गर्ने काम भइरहेको औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले जानकारी दिए । उनले पहिलो चरणमा सुर्खेत जिल्लाका विभिन्न क्वारेन्टाइन एवं आइसोलेशनसँगै प्रदेश अस्पताल स्थित कोरोना विशेष अस्पताल आइसोलेसन सेन्टरमा उपचाररत रहेका करिब तीन हजार जनालाई औषधि दिइसकिएको बताए । औषधालयका कविराज निरीक्षक श्रीराम आचार्यका अनुसार संक्रमितलाई गुर्जो, अमला, अश्वगन्धा चूर्ण, महासुदर्शन चूर्ण, यष्ठिमधु चूर्ण र जडिबुटी चिया नामक औषधि दिइएको छ । सबै औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने र शरीरमा विभिन्न खाले भाइरसको असर कम गर्दै लैजाने जानकारी आचार्यले दिए । उनका अनुसार यी सबै औषधि दैनिक पाँच/पाँच ग्राम दुई पटकसम्म प्रयोग गर्नु पर्छ ।


औषधालयले सुर्खेत जिल्लाका विभिन्न स्थानीय तहसँगै प्रदेशभर रहेका आफ्ना विभिन्न शाखाहरु मार्फत औषधि वितरण गरि रहेको डा. शंकरप्रसाद रिजालले जानकारी दिए । उनले संक्रमित बाहेक कोरोनाविरुद्ध अग्रभागमा उभिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई पनि यी औषधि वितरण गरिएको बताए । ‘आयुर्वेदिक औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शरीरभित्र असर गर्ने कोरोना भाइरसबाहेक विभिन्न किसिमका सुक्ष्म जीवाणुलाई मार्छ,’ उनले भने, ‘तर अहिलेसम्म कोरोना भाइरसलाई भने नष्ट गरेको पुष्टि भइसकेको छैन ।’ उनले आयुर्वेदिक औषधि नियमित सेवन गर्नाले कुनै असर नगर्ने र बाहिरी भाइरसले  शरीरमा आक्रमण गर्न नसक्ने उल्लेख गरे । ‘आयुर्वेदिक औषधिको कुनै ‘साइड इफेक्ट’ छैन,’ उनले भने, ‘बरु स्वास्थ्यमा हानी पु¥याउने अरु भाइरस एवं जीवाणुलाई शरीरभित्र प्रवेश गर्नबाट रोक्छ ।’

उनका अनुसार औषधालयले क्वारेन्टाइन तथा आइसोलेशनमा राखिएका कारोना भाइरसका शंकास्पदहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने किसिमका आयुर्वेदिक औषधि र जडिबुटी दिन थालिएको हो । उनले क्वारेन्टाइनमा रोग प्रतिरोधात्मक क्षमता बढाउन योग सम्बन्धी नमूनात्मक क्रियाकलाप समेत सिकाउने गरिएको जानकारी दिए । ‘त्यसबाहेक सर्ने तथा नसर्ने रोगहरु कसरी न्यूनीकरण गर्ने भन्ने बारेमा सेचतनामुलक कार्यक्रमलाई पनि जारी राखिएको छ,’ उनले भने, ‘आइसोलेसन सेन्टरमा उपचाररत र क्वारेन्टाइनमा रहेकाहरुलाई आयुर्वेदिक औषधिले स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावका बारेमा समेत जानकारी गराई रहा छौं1 ।’

औषधी बाट्दै सल्यान पुग्यो औषधालयको टोली
प्रदेश आयुर्वेद औषधालयको टोली सुर्खेतका विभिन्न क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई औषधि वितरण गर्दे सल्यान पुगेको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण अभियान अन्तर्गत सल्यानका विभिन्न स्थानमा रहेका आइसोलेशनमा उपचारत कोरोना संक्रमितसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि औषधालले सदरमुकाम खलंगा स्थित आयुर्वेद शाखालाई मंगलबार औषधि हस्तान्त्ररण गरेको हो । औषधि हस्तान्तरका अवसरमा औषधालयका बैद्य निरीक्षक दिपेन्द्र कँडेलले प्रदेश सरकारको समन्वयमा प्रदेशभर अवस्थित आयुर्वेद शाखाहरुमा थप औषधि वितरण गरिने जानकारी दिए । उनले सोमबार सुर्खेतका लेकबेसी नगरपालिकासँगै गुर्भाकोट नगरपालिकामा रहेका कोरोना संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको बताए । उनका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिसँगै कोरोनाबाट बच्ने उपायका बारेमा जानकारी मुलुक स्वास्थ्य शिक्षा सामाग्री समेत वितरण गरिएको छ ।


कर्णाली प्रदेश आयुर्वेद स्वास्थ्यकर्मी समाजका अध्यक्ष समेत रहेका कँडेलले आयुर्वेद औषधिको प्रचारप्रसारसँगै प्रदेशका सबै पालिकामा अनिवार्य आयुर्वेद शाखा सञ्चालन गर्न सुझाव समेत दिने गरेको बताए । ‘सुर्खेतका सबै पालिकासँगै प्रदेश सरकारसँग समेत आयुर्वेदको विस्तार तथा उन्नयनका लागि निरन्तर प्रयासरत रहेका छौं,’ उनले भने, ‘आयुर्वेद स्वास्थ्यकर्मी समाज मार्फत विभिन्न निकायलाई आयुर्वेद औषधिको प्रयोग तथा उपयोगिताका लागि समेत जानकारी दिने गरेका छौं ।’

उनले जडिबुटीको हवको रुपमा रहेको कर्णाली प्रदेशमा उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरि मानव जीवनलाई आयुर्वेद मार्फत सहज तथा सरल बनाउने प्रयासहरु जारी रहेको जनाए । प्रदेशका सबै पालिकालाई आगामी बजेटमा समेत प्राथमिकताका साथ समेट्न ज्ञापनपत्र समेत दिने काम भईसकेको उनको भनाइ थियो । औषधालयले कोरोना संमक्रमण रोकथाम तथा नियन्त्रणका लागि रोगप्रतिरोधात्मक औषधि वितरण गरेको प्रति लेखबेसी नगरपालिकाका मेयर गगनसिंह सुनार र गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले धन्यवाद व्यक्त गरे । उनीहरुले आफ्नो पालिकामा आयुर्वेद औषधि मात्र नभई शाखा नै सञ्चालनमा ल्याउनका लागि आगामी बजेटमा विशेष योजना बनाईएको बताउँछन् ।

 

Translate »