खाद्य कम्पनीको अनलाइन होम डेलिभरी सेवा शुरु

स्काई न्यूज /असार १६, सुर्खेत ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतमा अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा शुरु गरेको छ । बन्दाबन्दी अवधिमा उपभोक्तासँग सुर्खेत उपत्यकाभित्र डेलिभरी चार्ज नलिने गरि अनलाइन सेवाबाट खाद्यान्न होम डेलिभरी सेवा शुरु गरेको हो । कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मंगलबार वीरेन्द्रनगरमा खाद्यान्न होम डेलिभरी अनलाईन सेवा शुभारम्भ गर्दे समय सापेक्ष वर्तमान परिस्थितिमा कम्पनीको भूमिकाको महत्व थप बढेको बताए । उनले बन्दाबन्दी अवधिमा काठमाडौंपछि सुर्खेतमा कम्पनीले अनलाईन खाद्यान्न होम डेलिभरी सेवा सञ्चालनमा ल्याएर उपभोक्तालाई सहजता दिएको प्रति धन्यवाद व्यक्त गरे । ‘कर्णालीमा लामो समयदेखि खाद्यन्न आपूर्ति गर्दे आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महत्व भूमिका निर्वाह गर्दे आईरहेको छ,’ उनले भने, ‘कर्णाली प्रदेश सरकारले समेत यस वर्ष कामको बद्लामा खाद्यान्न, ४० हजार क्विन्टल खाद्यान्न मौज्दात राख्ने र ५० करोड खाद्यान्न ढुवानीका लागि छुट्टाएका छौं ।’ उनले प्रदेशमा पर्याप्त खाद्यान्न भण्डारसँगै सहज आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गरे ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा.कृष्णप्रसाद आचार्यले कर्णालीमा उत्पादित खाद्यान्नको प्रवद्र्धन तथा प्रचारप्रसारमा टेवा पु¥याउन कम्पनीलाई सुझाव दिए । उनले उपभोक्ताका लागि अनलाइन खाद्यान्न होम डेलिभरी सेवा बन्दाबन्दी अवधिमा मात्र नभई अन्य समयमा समेत राम्रो भएको बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीका नायव महाप्रबन्धक मणिराज खनालले काठमाडौंदेखि शुरु गरेको अनलाईन खाद्यान्न होम डेलिभरी सेवालाई अब सुर्खेती उपभोक्ता माँझ ल्याउन पाउँदा अत्यन्त खुशी लागेको जनाए । उनले उपभोक्ताको घर–घरमै सेवा पु¥याउने उद्देश्यका साथ कम्पनीले दैनिक उपभोग्य वस्तुको समेत अनलाईन खाद्यान्न होम डेलिभरीका लागि प्रयासरत रहेको बताए । त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले उपभोक्तालाई गुणस्तरीय सेवा दिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने ईच्छा जाहिर गरे । कम्पनीका कर्णाली प्रदेश प्रमुख भिमबहादुर थापाले अनलाईन मार्फत उपभोक्ताको घरदैलोसम्मै खाद्यान्न पु¥याउने कार्यले कम्पनीको कार्यालयमा खाद्यान्न खरिदका लागि लाग्ने भिड अब कम हुने अपेक्षा राखें । उनले सरकारी कम्पनीहरुले अनलाइन अर्डर लिएर उपभोक्ताको घरदैलोसम्म खाद्य सामग्री पु¥याउन लागेको कर्णालीमा यो नै पहिलोपटक भएको बताए । घरमै खाद्यान्न पाउन नेपालफुड डटकमबाट कम्तीमा १४ सयदेखि बढीमा ५ हजार रुपैयाँ सम्मको सामान खरिद गर्नुपर्ने प्रावधान राखिएको छ । कम्पनीले हाललाई चामल, कर्णालीको सिमी र फापर बिक्रीका लागि उपलब्ध छ ।
शुरुमै पैसा तिर्नुनपर्ने
अहिले निजी क्षेत्रबाट सञ्चालित अधिकांश अनलाइन सपिङ पोर्टलहरुले खरिद गर्न चाहेको वस्तु छनोट गरेपछि अग्रिम भुक्तानी गर्नुपर्ने शर्त हुन्छ । पैसा तिरिसकेपछि मात्र उपभोक्ताको घरसम्म सामान आउने गरेको छ । तर, खाद्य कम्पनीले शुरुमै पैसा तिर्ने वा घरमा सामान पाइसकेपछि नगद दिने दुवै विकल्पमा होम डेलिभरी गर्ने गरेको छ । ‘अनलाइनमार्पत रकम भुक्तानी गर्न चाहने उपभोक्ताले सामान अर्डर गरेपछि तोकिएको रकम कम्पनीको खातामा जम्मा गर्न सक्नुहुन्छ । तर, सामान हात परेपछि मात्र पैसा दिन्छु भन्ने उपभोक्तालाई पनि हामीले सुविधा दिएका छौं । यस्ता उपभोक्ताले घरमा आएको सामान हेरेर सबै ठीक रहेको पुष्टि गरेर डेलिभरीमा गएका कम्पनीका प्रतिनिधिलाई नगद दिन सक्नुहुन्छ,’ कम्पनीका कर्णाली प्रदेश प्रमुख थापाले भने । लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा वीरेन्द्रनगर नगरक्षेत्रमा अनलाइन मार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ ।

Translate »