सुर्खेत, दैलेख र सल्यानमा लकडाउन कडा बनाउन आग्रह

 

स्काई न्यूज / असार १८, सुर्खेत ।

कर्णाली प्रदेशको सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै पनि प्रभावकारी बनाउन आग्रह गरिएको छ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको प्रभाव अझै कम नभएको भन्दै लकडाउनका साथै सुरक्षा मापदण्डलाई कडाइका साथ कार्यान्वयन गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन समेत दिएका छन् । तर, जिल्ला विपद् व्यवस्थापन केन्द्रको सिफारिशमा कोरोनाको प्रभाव नदेखिएका तथा कम भएका क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउँदै लगिने पनि उनले बताए । सोमवार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री शाहीले कोरोनाविरुद्धको लडाइँमा अझै क्रियाशील भएर लाग्नु पर्नेमा जोड दिएका छन् ।भारतबाट प्रदेश भित्रिनेको चाप घट्दो क्रममा रहेकाले अब समुदायस्तरमा केन्द्रीत हुनुपर्ने मुख्यमन्त्री शाहीको भनाइ छ । कोरोना संक्रमणको प्रभाव धेरै देखिएका सुर्खेत, दैलेख र सल्यानका समुदायस्तरमा पनि कोरोनाको संक्रमण पुगेको हुन सक्ने बताउँदै उनले रोकथाम र नियन्त्रणका लागि परीक्षण तीव्र पार्न जोड दिएका छन् । परीक्षणमा निकै ढिलासुस्ती भएको उनको भनाइ छ । कुनै पनि बहाना वा कारण देखाएर परीक्षण गर्नबाट पछि नहट्न पनि उनले निर्देशन दिएका छन् ।क्वारेन्टिनका लागि प्रयोग भएका स्थानीय स्तरका विद्यालय तथा सार्वजनिक संस्थाका भवनहरू खाली गर्नु पर्नेमा पनि उनको जोड छ ।

Translate »