कर्णालीमा कोरोना प्रभावितलाई स्वरोजगारमूलक तालीम

स्काई न्यूज / असार २१,सुर्खेत ।
कर्णाली प्रदेशका कोरोना प्रभावित ३०० जना युवालाई स्वरोजगारमूलक तालीम सञ्चालन भएको छ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनका कारण रोजगारी गुमाउन बाध्य सुर्खेत र दैलेखका युवालाई आयआर्जन वृद्धिमा सहयोग पु¥याउनका लागि तालीम सञ्चालन गरिएको हो । तालीमका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १५० जना र दैलेखको नारायण नगरपालिकाका १५० जना युवा छनोट गरिएका छन् । यूनएनडीपीको आर्थिक सहयोगमा कोरोनाबाट प्रभावित अति कमजोर वर्गका लागि आयआर्जन सुरक्षित गराउन कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले बताए । कोरोना प्रभावितहरूलाई लघु उद्यममार्फत स्वरोजगार बनाउने कार्यक्रम शुरू भएको र सुर्खेतमा जिल्ला लघु उद्यमी समूह संघ र दैलेखमा जिल्ला लघु उद्यमी समूह संघबीच सम्झौता गरेर कार्यक्रम शुरू गरिएको उनले जानकारी दिए । कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत र अतिविपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइने छ । उनीहरूको रुची, बजार माग तथा आवश्यकताका अधारमा तालीम सञ्चालन गरिने बताइएको छ । युवालाई व्यावसायिक शीपमूलक तालीम प्रदान गरी नयाँ उद्यमी बनाउने योजनाअनुरूप तालीम सञ्चालन गरिएको हो ।

Translate »