प्रशासनबाट पेट्रोल पम्पमा अनुगमन शुरु

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

स्काई न्यूज /असार २६, सुर्खेत ।
संयुक्त बजार अनुगमन समिति सुर्खेतले वीरेन्द्रनगरका पेट्रोल पम्पहरुको अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको बजार अनुगमन समितिले शुक्रबार वीरेन्द्रनगर स्थित शंकर आयल स्टोर्स र उमा आयल स्टोर्समा अनुगमन गरको हो । अनुगमनमा क्रममा समितिले पेट्रोलपम्पमा आवश्यक सुरक्षा सतर्कता नपनाएको, उपभोक्ता मैत्री नरहेको, हाल सञ्चालनमा रहेका धेरै पम्प मानिसको बस्ती नजिक र सडकबाट पनि अत्यन्तै नजिक रहेको पाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले पेट्रोल पम्प अनुगमनका क्रममा पेट्रोलको गुणस्तर, नापतौल सामान्य रहेको पाईएपनि उपभोक्तामैत्री नरहेको पाईएको बताए । उनले तत्काल सुर्खेतको वीरेन्द्रनगर स्थित पेट्रोलपम्पहरुले शुद्ध खानेपानी, शौचालय, सावुन लगायत आवश्यक सुरक्षा सतर्कता अपनाउनु पर्नेमा जोड दिए । ‘भर्खरै सुर्खेत आएका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बजार स्वच्छ प्रतिस्पर्धी, सफा र उपभोक्तामैत्री हुनु पर्छ,’ उनले भने, ‘एक आपसमा स्तरीय सेवा प्रवाहका लागि प्रस्तिसपर्धी हुनुका साथै उपभोक्ताको मन जित्ने सेवामा व्यवसायीको ध्यान केन्द्रित हुनु पर्छ ।’ उनले अरुको सेवामै आफ्नो हिस्सा लुकेकाले अलग्गै सेवा नखोज्न आग्रह गरे ।

उनका अनुसार अनुचित तवरले उपभोक्ता ठगि गर्ने जोकोहीलाई कानून सम्वत कार्वाही गरिने छ । सडकको धेरै नजिक, सवारी साधनमा तेल भरिराख्दा सर्वसाधारणलाई आवागमनमा समस्या देखिएको तथा बस्तीको हिसाबले अत्यन्तै नजिक रहेका पम्प मानवीय जोखिम मानिन्छन् । अनुगमन समितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल आयल निगम कर्णाली प्रदेश प्रादेशिक कार्यालय, गुणस्तर तथा नाप तौल कार्यालय सुर्खेत, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वीरेन्द्रनगर नगरपालिका एवं राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

यसैवीच पेट्रोलियम पदार्थको मूल्यमा पुनः बृद्धि भएको छ । नेपाल आयल निगमले शुक्रवार सूचना जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाएको जानकारी दिएको छ । निगमले बढाएको मूल्यपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्ने भएको छ । बढेको मूल्य शुक्रवार राति १२ बजेदेखि लागू हुने निगमले जानकारी दिएको छ । खाना पकाउने ग्यास तथा हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । भारतबाट मूल्य बढेर आएकाले नेपालमा पनि समायोजन गरिएको निगमले जानकारी दिएको छ ।

Translate »